काठमाडौं । आफ्नो कार्यक्षेत्र छोडी व्यक्तिगत सहजताका आधारमा कार्यक्षेत्र रोजेका १४ जना विशेषज्ञ चिकित्सकहरूलाई आफ्नो कार्यक्षेत्रमा फर्काइएको छ ।
पहुँचको आधारमा सुगमका अस्पतालमा ‘काज’ मिलाएर बसेका चिकित्सकहरू अब आफ्नै दरबन्दी भएको कार्यक्षेत्रमा फर्किने भएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले पहिलो चरणमा नवौं र दशौं तहका विशेषज्ञ चिकित्सकलाई दरबन्दी रहेको अस्पतालमा फिर्ता पठाइएको जनाइएको छ ।
मेहताले डडेल्धुरा, वीरगन्ज र सप्तरीका अस्पतालहरूलाई प्राथमिकतामा राखेर काज फिर्ता सुरु गरेपछि डडेल्धुरा अस्पतालमा ४ जना र नारायणी अस्पताल वीरगञ्जमा ५ जना र गजेन्द्रनारायण सिंह अस्पताल सप्तरीमा ५ जना विशेषज्ञ चिकित्सक फिर्ता भएका हुन् ।
दुर्गम जिल्लाका अस्पतालमा विशेषज्ञ सेवाको उपलब्धता सुनिश्चित गर्न र लामो समयदेखि शक्तिको आडमा सुगम रोज्ने प्रवृत्तिलाई अन्त्य गर्न मन्त्रीले यो कदम चालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काज फिर्ता भएका चिकित्सकमा वरिष्ठ कन्सल्टेन्ट ई.एन.टी. सर्जन डा. रोहिता बज्राचार्य, कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट डा. जोसनलाल बज्राचार्य, कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट डा. विशाल कुमार देव, कन्सल्टेन्ट रेडियोलोजिस्ट डा. प्रकाश ढकाल, कन्सल्टेण्ट साइक्याट्रिष्ट डा. सुशील समदर्शी रहेका छन् । उनीहरू आफ्नो कार्यक्षेत्र गजेन्द्र नारायण सिंह अस्पताल छोडेर आफूलाई सजिलो हुने क्षेत्रमा काम गर्दै आएका थिए ।
यस्तै, मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोषकुमार गुप्ता, कन्सल्टेन्ट डर्माटोलोजिस्ट डा. मिसन्ता शर्मा, कन्सल्टेन्ट सर्जन डा. नवीन चन्द्र भट्ट, वरिष्ठ कन्सल्टेण्ट रेडियोलोजिस्ट डा. सुयोग्य वाग्लेलाई आफ्नो कार्यक्षेत्र डडेल्धुरा अस्पतालमा फर्काइएको छ ।
नारायणी अस्पताल पर्सामा कार्यक्षेत्र भएका पाँच जना चिकित्सकलाई पनि कार्यक्षेत्र फर्काइएको छ, जसमा वरिष्ठ कन्सल्टेन्ट ई.एन.टी. सर्जन डा. सोनीका धरी श्रेष्ठ, मेडिकल ल्याब टेक्नोलजिस्ट सञ्जोग तिमिल्सिना, कन्सल्टेन्ट ग्यास्ट्रोइन्टरोलोजिस्ट डा. अरुण ज्ञवाली, वरिष्ठ कन्सल्टेन्ट ट्रोपिकल मेडिसिन/फिजिसियन डा. मुकेश पौडेल र कन्सल्टेन्ट साइक्याट्रिष्ट डा. दिपेश भट्टराई रहेका छन् ।