काठमाडौं । बालबालिकालाई सानै उमेरदेखि नै जीवनोपयोगी सीप विकास गराउने उद्देश्यले विद्यालय पाठ्यक्रममै विपद् उद्धारसम्बन्धी कार्यक्रम समावेश गर्ने पहल सुरु गरिएको छ ।
गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरीका प्रमुख आइजीपी राजु अर्यालसँगको छलफलको क्रममा यसमा आवश्यक तयारी गरी अगाडि बढाउन निर्देशन दिए ।
मन्त्री गुरुङले शिक्षा मन्त्रालयसँग समन्वय गरी उक्त कार्यक्रम कार्यान्वयन गर्ने योजनासमेत अघि सारेका छन् ।
बालबालिकालाई प्राकृतिक विपद्का समयमा सुरक्षित रहने तरिका, प्राथमिक उद्धार सीप तथा सचेतनामूलक ज्ञान प्रदान गर्ने लक्ष्य राखिएको छ ।
यस कार्यक्रममार्फत विद्यार्थीहरूलाई व्यवहारिक ज्ञानसहित आपतकालीन अवस्थाको सामना गर्न सक्षम बनाउने अपेक्षा गृह मन्त्रालयको छ ।
सम्बन्धित निकायहरूबीच आवश्यक सहकार्य गरी परियोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने जनाइएको छ ।