प्रधानमन्त्री र सुदूरपश्चिमका सांसदबीच छलफल, सेती आयोजनादेखि सडक विस्तारसम्मका एजेन्डा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग विकास निर्माण तथा त्यस क्षेत्रमा देखिएका समस्या समाधानका बारेमा छलफल गरेका छन् । 

उनले मंगलबार (आज) सिंहदरबारमा सुदूरपश्चिम प्रदेशमा विकास निर्माणका बारेमा छलफल गर्दै समस्या समाधानमा पहल गर्ने बताएको डोटीका सांसद भरत खड्काले जानकारी दिए ।
 
‘प्रधानमन्त्रीले प्रदेशगत रुपमा निर्वाचित सांसदसँग विकासको वस्तुस्थितिबारे छलफल गर्नुभएको हो,’ प्रधानमन्त्रीसँगको भेटबारे सांसद खड्काले भने । 

प्रदेश र जिल्लाभित्रका विकासका योजनाका बारेमा आफूहरूले प्रधानमन्त्रीसँग कुरा राखेको उनले बताए ।

‘सेती जलविद्युत् आयोजना, कैलाली–दिपायल सडक, सेती लोकमार्गलगायत सडक निर्माण एवं स्तरोन्नति, सिँचाइ, शिक्षा, स्वास्थ्य क्षेत्रको स्तरोन्नति तथा हवाई सेवा विस्तारलगायत विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएँ,’ सांसद खड्काले भने ।
 
सांसदहरुले प्रस्तुत गरेका विषयलाई सम्बोधनको प्रयास गर्ने प्रधानमन्त्री शाहले जानकारी दिएको उनले बताए । साथै प्रधानमन्त्रीले समस्याहरु सचिवालयमा टिपाउन आग्रह गरेका थिए ।
 
प्रधानमन्त्री शाहले सोमबार कोशी र कर्णाली प्रदेशबाट संसदमा प्रतिनिधित्व गरेका विभिन्न राजनीतिक दलका सांसदहरूसँग छलफल गरेका थिए ।

Share News