काठमाडौं । गत शनिबार पूर्वगृहमन्त्री रमेश लेखक भक्तपुरको कटुञ्जेबाट पक्राउ परे । गत भदौ २३ गते जेनजी आन्दोलनका क्रममा हेलचक्र्याइँपूर्वक मानिस मारेको भन्दै त्यतिबेला गृह मन्त्रालयको नेतृत्व गरेकाले जाँचबुझ आयोगले लेखकलाई तीनदेखि १० वर्षसम्म कैद सिफारिस गरेअनुसार नै प्रहरीलाई उनलाई पक्राउ गरेको हो ।
यो समाचार तयार पार्दासम्म लेखक प्रहरी हिरासतमै छन् । उनी २०८१ असार ३१ गतेदेखि २०८२ भदौ २२ गतेसम्म गृहमन्त्री बनेका थिए ।
रमेश लेखक
२०८१ कात्तिक २ गते सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परे ।
जिल्ला अदालत कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट लामिछानेलाई पक्राउ गरेको थियो । उनी पहिलो पटक २०७९ पुस ११ गतेदेखि माघ १३ गतेसम्म गृहमन्त्री बनेका थिए । त्यसैगरी, दोस्रो पटक २०८० फागुन २३ गतेदेखि २०८१ असार ३० गतेसम्म गृहमन्त्री बनेका थिए ।
रवि लामिछाने
बलात्कार प्रयासको आरोप लागेका पूर्व सभामुख तथा गृहमन्त्रीको जिम्मेवारी निभाई सकेका कृष्णबहादुर महरा पनि पक्राउ परे । प्रहरीले उनलाई २०७६ असोज १९ गते साँझ बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेको थियो ।
महरामाथि १२ असोजको साँझ संसद सचिवालयकी एक महिला कर्मचारीले बलात्कारको प्रयासको आरोपमा पक्राउ परेका थिए । उनी २०६८ वैशाख २० गतेदेखि २०६८ साउन १५ गतेसम्म गृहमन्त्री भएका थिए ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि पूर्वगृहमन्त्री हुन् । यो समाचार तयार पार्दासम्म ओली पनि प्रहरी हिरासतमा छन् । उनी २०५१ मङ्सिर १४ गतेदेखि २०५२ असोज ५ गतेसम्म गृहमन्त्री भएका थिए ।
ओलीलाई भदौ २३ गतेको जेनजी आन्दोलनमा १९ जनाको ज्यान जाने घटनामा संलग्न भएको आरोपको अनुसन्धानका लागि भन्दै प्रहरीले ओलीलाई पक्राउ गरेको हो ।
केपी शर्मा ओली
बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री विजयकुमार गच्छदारविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । यद्यपि उनी भने पक्राउ परेनन् ।
गच्छदार २०६८ भदौ १२ गतेदेखि २०६९ फागुन ३० गतेसम्म गृहमन्त्री बनेका थिए ।
पूर्वगृहमन्त्री बालकृष्ण खाँण पनि पक्राउ परेका थिए । उनी २०८० वैशाख २७ गते नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले निवासबाट पक्राउ गरेको थियो । खाँण २०७८ असार २९ गतेदेखि २०७९ पुस ११ गतेसम्म गृहमन्त्री भएका थिए ।
बालकृष्ण खाँण
पूर्वगृहमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए । २०८१ साउन १३ गते न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ९ महिना कैद र ६९ लाख १५ हजार जरिवानाको सजाय सुनाएको थियो ।
जोशी २०५५ वैशाख ८ गतेदेखि २०५६ असार १५ सम्म गृहमन्त्री बनेका थिए ।
मान्छेले चाहेर आफू कहिले पनि कलंकित वा अपराधी बन्दैनन् । उनीहरू आफूलाई अपराधी बनाउन चाहँदैनन् । त्यस्तै, परिस्थितिहरूको निर्माण हुन्छ, जसले उनलाई अपराध कर्ममा उक्साउँछ । कतिपय अवस्थामा मानिसहरू प्रत्यक्ष रूपमा उपस्थित भएर अपराध गर्छन् त कोही बेला मानिस आफै अप्रत्यक्ष रूपमा नीतिगत रूपमा अपराध गर्न अग्रसर हुन्छन् ।
यस्तै–यस्तै उदाहरण नेपालका राजनीतिक व्यक्तित्वमा प्रभाव पर्ने गर्छ । राजनीति गरेर उदाएका व्यक्तिहरू नै नीतिगत अपराध गरेर वा विवेक प्रयोग गर्न नसक्दा प्रहरीको हिरासतमा पुग्ने गरेका छन् ।
यो समाचार तयार पार्दासम्म नेपालका आठ जना पूर्वगृहमन्त्रीहरू प्रहरी हिरासतमा पुगेका छन् । अझ प्रधानमन्त्री भइसकेका व्यक्तिसमेत प्रहरीको अनुसन्धानमा पुगेका छन् ।
कुनै समय प्रहरीले तिनै गृहमन्त्रीलाई अगाडि–पछाडि सुरक्षा दिएर हिँड्ने गर्थे । अहिले भने तिनै व्यक्तिहरू प्रहरी हिरासतमा रहेका छन् । गृह मन्त्रालयले मुलुकको सबैभन्दा ठूला प्रशासनलाई चलाउने गर्छ । देशभरको जिल्ला प्रशासन कार्यालयदेखि विभिन्न निकायसम्मको नेतृत्त्व गृहमन्त्रालय अन्तर्गत पर्ने गर्छ ।
गृहमन्त्रालय सबैभन्दा शक्तिशाली मन्त्रालयमा पर्छ । समग्र प्रहरी प्रशासनदेखि ७७ जिल्लाको स्थानीय प्रशासन वा सीमा सुरक्षासमेत गृहमन्त्रालय अन्तर्गत पर्छ । सामान्य मानिसलाई नागरिकताको पहिचान दिएर नागरिक बनाउने काम पनि गृह मन्त्रालयले गर्ने गर्छ ।
समग्रमा देशकै प्रशासन सञ्चालन गर्ने गृहमन्त्रीहरूले विवेक र आफ्नो जिम्मेवारी बिर्सिँदा विभिन्न समयमा तिनै मन्त्रीहरू प्रहरीको हिरासतमा पुगेका दृष्टान्त छन् ।
केही दिनअघि मात्र पूर्वगृहमन्त्रीहरू प्रहरी हिरासतमा पुगेका छन् । पूर्वगृहमन्त्री तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि दिल्लीका पूर्व मुख्यमन्त्री अरबिन्द केजरीवालले आफ्नो पुरानो कुकर्मका कारण नेपालका पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्री पक्राउ परेको बताएका थिए ।
सामाजिक सञ्जालमा एबीपी न्युजको समाचार सेयर गर्दै उनले आफ्नो पुरानो कुकर्मका कारण नेपालका पूर्व प्रधानमन्त्री र पूर्वगृहमन्त्री पक्राउ परेको बताएका हुन् ।
नेतृत्वमा रहँदा समग्र मान वविकासको अध्ययन नगर्दा उच्चपदस्थमा रहेका व्यक्तिहरू अन्त्यमा प्रहरीको हिरासतमा पुग्ने गरेको दृष्टान्त रहेको पूर्वसचित गोपी मैनाली बताउँछन् । शक्तिमा रहँदा नेतृत्वहरूले विवेक प्रयोग गर्न नसक्नेहरू नै अन्त्यमा प्रहरीको अनुसन्धानको दायरा पर्ने गरेको उनको भनाइ छ ।
‘शक्तिमा रहँदा शक्तिको सदुपयोग नगर्ने तर शक्तिको दुरुपयोग गर्नेहरू प्रहरीको हिरासतमा पुग्ने गरेका छन्,’ उनले भने, ‘नेतृत्त्वमा रहेका व्यक्तिहरूले सधैं प्रशासनका लागि पाएका जिम्मेवारी पुरा गर्नुपर्छ । आफू के का लागि राजनीति गरेको र किन त्यो पदमा पुगे त्यसको आत्ममूल्यांकन गरेमा त्यस्ता व्यक्तिले शक्तिको दुरुपयोग गर्दैन थिए ।’
नेताहरूमा हरेक कुरालाई स्वीकार्न सक्ने क्षमता हुने गरेको स्वमनोविद् वासु आचार्य बताउँछन् । नेताहरूको स्वभाव स्वीकार्ने हुन्छ र मनोविज्ञान फरक प्रवृत्तिका हुने गरेको उनको भनाइ छ ।
‘कुनै पनि कुरालाई नेताले सामान्य रुपमा लिने गर्छन्,’ मनोविद आचार्य भन्छन्,’ मैले केही गरेको छैन । मेरो गल्ती कहीँ भएको छैन जस्ता कुरा गरेर जिद्दी गरेका हुन्छन् ।’
ठूला–ठूला पदमा पुगेका नेता तथा कर्मचारीहरूको पर्सनालिटी फरक किसिमको हुने गरेको उनले बताए ।
शक्तिको महत्त्व नबुझ्दा हिरासतमा
शक्ति भएपछि संयम गुमाउनेहरू प्रहरीको फन्दामा पुग्ने गरेको वरिष्ठ पत्रकार तीर्थ कोइराला बताउँछन् । शक्तिमा भएपछि के गर्न हुन्छ वा हुन्न त्यसको निर्णय गर्न नसक्नेहरू प्रहरीको हिरासतमा पुगेको उनको भनाइ छ।
शक्तिको दुरुपयोग गर्ने र शक्ति केही होइन भन्ने मानसिकता त्याग्न नसक्नेहरू कुनै न कुनै हिसाबले कानुनको फन्दामा पर्ने गरेको कोइरालाले बताए ।
शक्तिको उन्माद लाग्नेहरू प्रहरीको हिरासतमा पुग्ने नेपाल प्रहरीको पूर्व डीआइजी हेमन्त मल्ल ठकुरी बताउँछन् । गृहमन्त्रालय पावरफुल मन्त्रालय भएकाले शक्तिको मिस युज गरेकाले प्रहरीको अनुसन्धानमा दायरामा आउने गरेको उनको भनाइ छ ।
‘अधिकार सम्पन्न मन्त्रालयको अधिकार र कर्तव्य नबुझेकाहरू प्रहरीको हिरासतमा पुगेका छन्,’ उनले भने ।