काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र आम जनता पार्टीका अध्यक्ष प्रभु साहबीच मंगलबार लामिछानेको निजी निवास बुढानीलकण्ठमा भेटवार्ता भएको छ ।
उक्त भेटघाटका क्रममा सभापति लामिछानेले वर्तमान सरकारले मधेस प्रदेशलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने योजना बनाएको जानकारी गराए ।
मधेसको विकास र त्यहाँका जनताका समस्या समाधानमा सरकार गम्भीर रहेको लामिछानेको भनाइप्रति अध्यक्ष साहले खुसी व्यक्त गरे ।
छलफलका क्रममा दुवै नेताले हालैको जनमतले देश र विशेषगरी मधेस क्षेत्रमा ठूलो परिवर्तनको अपेक्षा गरेको बताए ।
जनताले दिएको मतको कदर गर्दै आगामी दिनमा पारस्परिक सहयोग र सहकार्यमार्फत अघि बढ्ने विषयमा समेत उनीहरूबीच छलफल भएको थियो ।
भेटघाटका क्रममा अध्यक्ष साहले रास्वपाको उदय र सभापति लामिछानेले खेलेको भूमिकाको प्रशंसा गर्दै उनलाई औपचारिक रूपमा बधाई तथा सफल कार्यकालको शुभकामनासमेत ज्ञापन गरेका थिए ।