कम्बोडियाबाट अलपत्र १२ नेपालीको उद्धार, स्वदेश फर्काइयो

काठमाडौं । कम्बोडियामा विभिन्न कारणले अलपत्र परेका १२ जना नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काइएको छ ।

थाइल्यान्डस्थित नेपाली राजदूतावासका अनुसार अनलाइन ठगी केन्द्र तथा अन्य गैरकानुनी काममा संलग्न गराइएका र विभिन्न समस्यामा परेका नेपालीलाई उद्धार गरी कम्बोडिया सरकारको समन्वयमा नेपाल फर्काइएको हो । उनीहरूलाई फागुन १७ गते कम्बोडियाको राजधानी फ्नोमपेन्हस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट उद्धार गरी नेपाल पठाइएको जनाइएको छ ।

राजदूतावासले कम्बोडियामा नेपाली नागरिकहरूलाई गैरकानुनी काममा लगाउने, बिना श्रम स्वीकृति बसोबास गराउने तथा कठिन परिस्थितिमा राख्ने घटनाहरू बढ्दै गएको जानकारी प्राप्त भएको जनाएको छ । यस्ता समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन आवश्यक समन्वय र सहजीकरण जारी राखिएको दूतावासले जनाएको छ ।

सम्बन्धित समस्यामा परेका नेपाली नागरिक वा उनका आफन्तलाई सहयोगका लागि थाइल्यान्डस्थित नेपाली राजदूतावास तथा कम्बोडियाका मानार्थ नेपाली वाणिज्यदूतसँग सम्पर्क गर्न आग्रह गरिएको छ । आवश्यक परे एकपटक प्रयोग गर्न मिल्ने यात्रा अनुमति (वन–वे ट्राभल परमिट) जारी गर्ने व्यवस्था समेत रहेको दूतावासले स्पष्ट पारेको छ ।

राजदूतावासका अनुसार पछिल्ला वर्षहरूमा रोजगारीको प्रलोभनमा कम्बोडिया जाने नेपालीको संख्या बढ्दै गएको छ । दूतावासले आकर्षक रोजगारीका नाममा हुने ठगीबाट सचेत रहन तथा वैदेशिक रोजगारीमा जानुअघि आधिकारिक प्रक्रिया पूरा गर्न सबै नेपाली नागरिकलाई आग्रह गरेको छ ।   

Share News