एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक मंगलबार बस्दैछ । पार्टी कार्यालय च्यासलमा आज बिहान ११ बजे एमालेले सचिवालय बैठक बोलाएको हो।

बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्राउपछिका पार्टीका रणनीति र अन्य विषयमा छलफल हुने जनाइएको छ । 

अध्यक्ष ओलीलाई गत शनिबार बिहान पक्राउ गरिएको थियो । हाल उनको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ।

‌ओलीलाई पक्राउ गरिएको विरोधमा एमालेले देशभर प्रदर्शन गरिरहेको छ भने आजको बैठकले आन्दोलनका थप कडा कार्यक्रमहरू घोषणा गर्ने सम्भावना छ ।

ओलीको पक्राउलाई पार्टीले राजनीतिक प्रतिशोधको संज्ञा दिँदै आएको छ । 

ओलीलाई जिल्ला अदालत काठमाडौंले ५ दिनको म्याद थप गरेको छ । त्यस्तै, सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । 

पूर्व प्रधानमन्त्री ओलीको पक्राउविरुद्ध उनकी पत्नी राधिका शाक्यले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । 

भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न बनेको पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको जाँचबुझ आयोगले ओलीविरुद्ध कारवाहीको सिफारिस गरेको थियो । 

सोही सिफारिसका आधारमा सरकारले गत शनिबार उनी पक्राउ परेका हुन् । 

Share News