काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहले भैंसेपाटीस्थित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (इपिए) को आकस्मिक निरीक्षण गर्दै सेवाग्राहीमैत्री सुधारका लागि निर्देशन दिएका छन् ।
निरीक्षणका क्रममा मन्त्री साहले श्रमिकहरू घण्टौं लाइनमा बस्नुपर्ने अवस्थाप्रति असन्तुष्टि जनाउँदै तत्काल टोकन प्रणाली लागू गर्न निर्देशन दिए । उनले सेवा प्रवाहलाई छिटो, सहज र व्यवस्थित बनाउन सुरक्षा व्यवस्था मजबुत पार्न, आवतजावतका बाटा सुधार गर्न र समग्र व्यवस्थापन चुस्त बनाउन कर्मचारीलाई सचेत गराए ।
‘सेवाग्राहीलाई सेवा सहज र छिटो कसरी दिने भन्नेमा विशेष ध्यान दिनुपर्छ,’ मन्त्री साहले भने, ‘अनावश्यक लाइन बस्नुपर्ने झन्झट अन्त्य गरी टोकन प्रणालीमार्फत सेवा सरल बनाउन आवश्यक छ ।’
वैदेशिक रोजगारीमा जानुअघि श्रमिकले लिनुपर्ने पूर्वप्रस्थान अभिमुखीकरण तालिमलाई अझ प्रभावकारी बनाउनेतर्फ पनि मन्त्रालय गम्भीर रहेको उनले बताए ।
श्रमिकको हितलाई केन्द्रमा राखेर सेवा सुधार अभियानलाई तीव्र बनाइने मन्त्री साहको प्रतिबद्धता छ ।