मुग्लिन-नागढुंगा सडक तीन दिन बन्द

काठमाडौं । राजधानी भित्रिने मुख्य प्रवेश मुग्लिन-नागढुंगा सडकखण्ड मंगलबारदेखि लगातार तीन दिनसम्म राति बन्द हुने भएको छ । सडक स्तरोन्नति कार्यलाई तीव्रता दिन चैत १७ गतेदेखि लागू हुने गरी प्रत्येक राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा रोक लगाइने जनाइएको छ । 

जिल्ला प्रशासन कार्यालय, चितवनले अत्यन्त जरूरी सूचना जारी गर्दै यात्रु तथा सवारी चालकलाई पूर्व तयारी गर्न आग्रह गरेको छ । प्रशासनका अनुसार सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना-४ स्थित घोप्टेभिर लगायत विभिन्न संवेदनशील स्थानमा निर्माण कार्य भइरहेकाले रातिको समयमा सवारी सञ्चालन गर्दा जोखिम बढ्ने भएकाले यस्तो निर्णय लिनुपरेको हो । 

सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माका अनुसार पटक–पटक सवारी आवागमन अवरुद्ध हुँदा यात्रुहरूले भोग्दै आएको असुविधालाई व्यवस्थित गर्न समय निर्धारण गरेर पूर्ण बन्द गर्ने नीति अपनाइएको हो ।

‘अत्यावश्यक सेवा बाहेकका सबै सवारी साधनलाई रातिको समयमा रोक लगाइएको छ,’ उनले भने । 

प्रशासनले यात्रुहरूलाई वैकल्पिक समय मिलाएर यात्रा गर्न र सम्भव भएसम्म रातिको यात्रा टार्न आग्रह गरेको छ । 

Share News