काठमाडौं । नेपाल प्रहरीका कनिष्ठ कर्मचारी तथा जवानहरूको ड्युटी निश्चित समय नतोकिँदा मनोबल खस्किएको खुलेको छ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र’ मा नेपाल प्रहरीको तल्लो तहका प्रहरीका ड्युटी समय निश्चित नहुँदा र न्युनतम पारिश्रमिक तोकिएका कारण कनिष्ठ तहका प्रहरी कर्मचारी मनोबल खस्किएको औल्याइएको छ ।
रासनभत्ताले गर्दासमेत कार्यक्षमतामा कमी आएको सुशासन मार्गचित्रमा उल्लेख गरिएको छ । प्रहरी तालिमका पाठ्यक्रमहरू अझै पनि शारीरिक ड्रिलमा बढी रहेको बताइएको छ । आधुनिक प्रविधि एवं मानव अधिकारमा बढी केन्द्रित हुन नसकेको उल्लेख गरिएको छ ।
प्रहरी ऐन, २०१२ पुरानो हुनु र सङ्घीय प्रहरी ऐन नआउँदा प्रदेश प्रहरीसँगको कार्यगत सम्बन्ध र समायोजनमा अन्योल कायम रहेको बताएको छ ।
साइबर अपराध र डिजिटल ठगीको अनुसन्धान गर्ने विशिष्टीकृत जनशक्तिको अभाव रहेको उल्लेख छ । आधुनिक ‘फरेन्सिक ल्याब’ को प्रादेशिक विस्तार हुन नसकेको ‘सुशासन मार्गचित्र’ मा उल्लेख छ ।
त्यसैगरी, राजनीतिक हस्तक्षेपका कारण सरुवा, बढुवा र कमाण्ड जिम्मेवारीमा समस्या देखिएको उल्लेख छ । यसले चेन अफ कमाण्ड र व्यावसायिक निष्ठामासमेत ह्रास आएको बताइएको छ ।
अपराध अनुसन्धानमा प्रयोग हुने ‘इन्वेस्टिगेटिभ फण्ड’ को अभावमा सूचनादाता परिचालन गर्न कठिनाई भएको विषय पनि प्रतिवेदनमा उल्लेख छ ।
बढ्दो शहरीकरण अनुसार सीसीटीभी क्यामेरा र ट्राफिक लाइटजस्ता आधुनिक प्रविधिको न्यूनतम उपलब्धता रहेको, सडक दुर्घटना पछि उद्धारका लागि आवश्यक पर्ने क्रेन र आधुनिक उद्धार सामग्रीको अभावले गर्दा धनजनको क्षति बढी भएको समेत प्रतिवेदनमा औल्याइएको छ ।
प्रहरी अनुसन्धान अधिकृतहरूलाई आवश्यक पर्ने कानुनी र प्राविधिक परामर्श सेवाको संस्थागत नहुँदा आवश्यक अनुसन्धान गर्न नसकिएको प्रतिवदेनमा उल्लेख छ ।
विशिष्ट व्यक्तिको सुरक्षामा आवश्यकताभन्दा बढी प्रहरी जनशक्ति परिचालन हुँदा तल्लो तहको सुरक्षा व्यवस्था प्रभावित भएको, प्रविधिको प्रयोग मार्फत सेवाप्रवाह अनलाइन उजुरी पूर्ण रुपमा कार्यान्वयमा आउन नसकेको पनि उल्लेख छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबीनारायण काफ्लेले अन्तर्राष्ट्रिय मान्यता अनुसार प्रहरी संगठनमा ८ घण्टा काम गरेर १६ घण्टा आराम गर्नु पाइने अवस्था नरहेको बताए । प्रहरीले अकस्मात वा आपतकालीन अवस्थामा तथा जुनसुकै समयमा सक्रिय हुनुपर्ने उनले बताए ।
उनका अनुसार प्रहरीले एक हजारभन्दा बढी प्रकारका काम गर्नुपरेको हुन्छ । प्रहरी कर्मचारीको संख्या कम रहेकाले ड्युटी सकेर पनि इमर्जेन्सी परेमा तुरुन्त काम गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
‘जनशक्तिको कमी छ । थप २३ हजार प्रहरीको माग भएर पत्र आएको छ,’ प्रवक्ता काफ्लेले भने,’ माग भएबमोजिम कर्मचारी थप गर्न सकिएको छैन । त्यसैकारणले पनि तल्लो तहका कर्मचारीलाई कार्यभार थपिएको छ ।’
कार्यक्षमता अनुसार दैनिक २ सय २० रुपैयाँलाई केही नुहने उनको भनाइ छ । २ सय २० रुपैयाँले ४ छाक खानुपर्ने भएकाले दैनिक भत्ताले नपुग्ने उनले बताए । २५–३० हजार तलबले अहिलेको महँगीमा प्रहरी जवानलाई पर्याप्त नहुने उनले उल्लेख गरे ।
कोहीबेला दिनभरी काम गरेर पनि रातभर काम गर्नुपरिरहेको काठमाडौंका एक प्रहरी वृत्तमा कार्यरत प्रहरी जवानले विकासन्युजलाई बताए । ‘दिउँसो काम सकेर बेलुका खाना खाएर आराम गरिरहेका हुन्छौं, पुनः डयुटीमा खटाइहाल्छन्,’ उनले भने ।