अर्थतन्त्रको जहाज मोडेर देशलाई नयाँ गतिमा लैजान आएको हुँ, घुस खुवाउन पर्दैन: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै अब व्यवसायीहरूले घुस खुवाउन, लाइन बस्न र थुनिनु पर्ने अवस्था अन्त्य गरिने बताएका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूसँगको भेटमा मन्त्री वाग्लेले निजी क्षेत्रलाई देश निर्माणको सहयात्रीको रूपमा अघि बढ्न आग्रह गरे ।

उनले भने, ‘लगानी बढाउनुस्, रोजगारी सिर्जना गर्नुस्, हामी मिलेर देश बनाऔँ ।’

मन्त्री वाग्लेले आफू घुस खान नआएको र कसैलाई पनि खान नदिने स्पष्ट पार्दै अर्थतन्त्रलाई नयाँ दिशामा लैजाने उद्देश्यका साथ काम गरिरहेको बताए । ‘म अर्थतन्त्रको जहाज मोडेर देशलाई नयाँ गतिमा लैजान आएको हुँ,’ उनले भने । 

null

उनका अनुसार सरकारले अब निजी क्षेत्रलाई अनावश्यक झन्झटबाट मुक्त गराउँदै सहजीकरण गर्ने नीति लिएको छ । ‘अब निजी क्षेत्रले घुस खुवाउन पर्दैन, लाइन लाग्न पर्दैन, कसैलाई थुनिनु पनि पर्दैन,’ उनले भने । 

यद्यपि, उनले आर्थिक अनियमितताप्रति कडाइ गरिने संकेत पनि दिए । उनका अनुसार, सामान्य आर्थिक गल्तीमा अब जेल सजायभन्दा जरिवाना प्रणालीमा जोड दिइने छ । तर, नियोजित बेइमानी गर्नेहरूका हकमा सरकार निर्मम हुने उनले चेतावनी दिए ।

null

मन्त्री वाग्लेले राज्य र निजी क्षेत्रबीचको सहकार्यले मात्र आर्थिक विकास र रोजगारी विस्तार सम्भव हुने उल्लेख गर्दै पारदर्शिता र इमान्दारी दुवै पक्षबाट अपेक्षित रहेको बताए ।

Share News