लन्च भएको सातामै सकियो यामाहाको हाइब्रिड बाइक, बजारमा उत्साहजनक प्रतिक्रिया

काठमाडौं । यामाहा नेपालले हालै सार्वजनिक गरेको नेपालको पहिलो हाइब्रिड मोटरसाइकल यामाहा एफजेट–एस एफआई हाइब्रिड ग्राहकबाट अत्यन्त सकारात्मक प्रतिक्रिया पाएपछि आधिकारिक लन्च भएको एक हप्तामै सोल्ड आउट भएको छ ।

कम्पनीका अनुसार नयाँ पुस्ताको हाई–टेक प्रविधिसहित ल्याइएको उक्त मोटरसाइकलले नेपाली बजारमा आधुनिक मोटरसाइकलिङको नयाँ अध्याय सुरु गरेको छ । प्रदर्शन र इन्धन दक्षतालाई सन्तुलनमा राख्दै तयार गरिएको यो मोडललाई भविष्यतर्फ उन्मुख प्रविधिमैत्री सवारीका रूपमा हेरिएको छ ।

एफजेट–एसको स्थापित लिगेसीमा आधारित यस हाइब्रिड मोडललाई उच्च पावर, सुधारिएको इन्धन दक्षता तथा कम उत्सर्जन सुनिश्चित गर्ने गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ । बढ्दो इन्धन मूल्य र शहरी ट्राफिक व्यवस्थापनजस्ता चुनौतीलाई ध्यानमा राख्दै विकास गरिएको यो मोटरसाइकलले उत्कृष्ट माइलेज प्रदान गर्ने दाबी गरिएको छ ।

उन्नत प्रविधि, स्मार्ट फिचर र प्रभावकारी इन्धन खपतका कारण छोटो समयमै बजारबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ । राइडरहरूको माइलेज आवश्यकतालाई सम्बोधन गर्न सकेकाले यो मोडलले बलियो बजार स्वीकार्यता हासिल गरेको कम्पनीको भनाइ छ ।

उच्च मागलाई मध्यनजर गर्दै यामाहा नेपालले मोटरसाइकलको अर्को ब्याचका लागि प्रि–बुकिङ खुला गरेको घोषणा गरेको छ । ग्राहकहरूले प्रि–बुकिङसम्बन्धी जानकारी यामाहाका आधिकारिक सामाजिक सञ्जाल तथा देशभरका अधिकृत डिलरमार्फत प्राप्त गर्न सक्नेछन् । कम्पनीले नयाँ स्टक चाँडै उपलब्ध गराई समयमै डेलिभरी सुनिश्चित गर्ने जनाएको छ ।

यस उपलब्धिबारे यामाहा नेपालका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले प्रविधि र माइलेजप्रति बढ्दो ग्राहक आकर्षणले उत्साहजनक प्रतिक्रिया प्राप्त भएको बताए । उनले ग्राहकको विश्वासप्रति आभार व्यक्त गर्दै नेपाली राइडरहरूको बदलिँदो आवश्यकता अनुसार नवीन तथा व्यवहारिक यातायात समाधान ल्याउन कम्पनी प्रतिबद्ध रहेको उल्लेख गरे ।

कम्पनीका अनुसार एफजेट–एस एफआई हाइब्रिडको सफल लन्चसँगै नेपाली बजार स्मार्ट र दक्ष मोटरसाइकलिङतर्फ अघि बढिरहेको संकेत देखिएको छ ।

Share News