एक्साइडको नयाँ ‘ई-राइड’ ब्याट्री बजारमा, ई-रिक्सा चालकलाई लागत घटाउने दाबी

काठमाडौं । सिप्रदी ट्रेडिङले नेपाली बजारमा ई–रिक्सा चालकहरूलाई लक्षित गर्दै अत्याधुनिक एक्साइड ‘ई–राइड’ लिथियम–आयन ब्याट्री सार्वजनिक गरेको छ । खर्च घटाउने र आम्दानी बढाउने उद्देश्यसहित ल्याइएको उक्त ब्याट्रीले परम्परागत लेड–एसिड ब्याट्रीको तुलनामा ई–रिक्सालाई थप आधुनिक, सुरक्षित र शक्तिशाली बनाउने कम्पनीको विश्वास छ ।

कम्पनीका अनुसार नयाँ ब्याट्री एआईएस–१५६ फेज–२ प्रमाणित हुनुका साथै सर्ट सर्किट तथा पानीबाट सुरक्षा प्रदान गर्ने आईपी–६७ रेटेड सुरक्षा प्रणालीले सुसज्जित छ । ब्याट्रीसँगै २५ एम्पियर क्षमताको अत्याधुनिक एसएमपीएस चार्जर पनि उपलब्ध गराइएको छ, जसमा दुई वर्षको वारेन्टी प्रदान गरिएको छ । उक्त चार्जरमार्फत ब्याट्रीलाई ३ देखि ४ घण्टाभित्र पूर्ण रूपमा चार्ज गर्न सकिने जनाइएको छ ।

हल्का तौल र उच्च क्षमताका कारण यस ब्याट्रीले बढी माइलेज दिनुका साथै सवारी सञ्चालनका क्रममा समान पावर कायम राख्न मद्दत गर्ने कम्पनीले जनाएको छ । सामान्य लेड–एसिड ब्याट्रीको आयु १ देखि २ वर्षसम्म मात्र हुने भए पनि यो लिथियम–आयन ब्याट्री ५ देखि ८ वर्षसम्म टिक्ने क्षमता रहेको बताइएको छ ।

यसमा बारम्बार पानी थप्नुपर्ने झन्झट नहुने तथा मर्मत खर्च कम लाग्ने भएकाले ई–रिक्सा चालकहरूका लागि किफायती विकल्प बन्ने अपेक्षा गरिएको छ । ग्राहकको विश्वास बढाउन कम्पनीले ब्याट्रीमा ३६ महिनाको वारेन्टी उपलब्ध गराएको छ ।

नेपालभरका आधिकारिक एक्साइड डिलरमार्फत उपलब्ध हुने उक्त ब्याट्री र चार्जर सेटले ई–रिक्सा व्यवसायीहरूको दीर्घकालीन बचत र उच्च कार्यक्षमता सुनिश्चित गर्ने कम्पनीको दाबी छ । आधुनिक र शक्तिशाली सवारी सञ्चालन गर्न चाहने चालकहरूका लागि यो ब्याट्री प्रभावकारी विकल्प हुने अपेक्षा गरिएको छ ।    

Share News