काकडभिट्टा–लौकही सडक स्तरोन्नति सुस्त, पूर्वाधार व्यवस्थापनमै अवरोध

काठमाडौं । एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा स्तरोन्नति भइरहेको काकडभिट्टा–लौकही सडक निर्माण कार्य सुस्त भएको छ । सडक विभाग अन्तर्गतको आयोजना निर्देशनालय (एडिबी) ले पाँच खण्डमा विभाजन गरी ९५ किलोमिटर सडकको स्तरोन्नति गरिरहेको भएपनि लक्ष्य अनुसारको प्रगति हुन सकेको छैन । 

कुल ४६ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको यो सडकलाई पूर्वी र पश्चिम खण्डमा बाँडिएको छ । पूर्वी खण्ड अन्तर्गत काकडभिट्टादेखि सितापुरीसम्म ४५ किलोमिटर र पश्चिम खण्ड अन्तर्गत झापाको सितापुरीदेखि सुनसरीको लबीपुलसम्म ५० किलोमिटर लम्बाई रहेको छ । निर्माण कम्पनी कोभेक सिआरइजिसि टुण्डी जे.भीका प्रतिनिधि अनिश रेग्मीकाअनुसार सन् २०२४ फेब्रुअरी २ बाट निर्माण टिम परिचालन गरिए पनि आयोजनाको पूर्वतयारीमा हुनुपर्ने कामहरू नहुँदा निर्माणमा अवरोध भएको छ । 

शहरी क्षेत्रमा सडक आसपास भएका विद्युतीय पोलहरू नयाँ रुटबाट सार्न कठिन भइरहेको उनको भनाइ छ । सडक खण्डमा विद्युतको पोल सार्न सबैभन्दा ठूलो समस्या भएको बताए । साथै खानेपानीको पाइपले पनि समस्या आउँदा काम गर्न ढिलाइ भएको उनको भनाइ छ । 

विद्युत प्राधिकरणले हालसम्म ३० प्रतिशत मात्रै पोल स्थानान्तरण गरेको छ । शहरी क्षेत्रमा विद्युतीय पोलसँगै खानेपानीका पाइपहरूका कारण पनि निर्माणमा अवरोध आइरहेको निर्माण कम्पनीका प्रतिनिधिहरू बताउँछन् । दमक बजारमा विद्युतीय पोलकै कारण फ्लाई ओभर निर्माण समेत रोकिएको छ । पश्चिम खण्डका आयोजना प्रमुख जगत प्रजापतीले विद्युत प्राधिकरणलाई पटक–पटक ताकेता गर्दा समेत लक्ष्य अनुसारको पोल सार्न नसकिएको बताए । 

२०२७ जनवरीभित्र सम्पन्न गर्नुपर्ने यो आयोजनामा अझै १ हजार ५ सयभन्दा बढी पोल सार्न बाँकी छ ।    

Share News