बालेन सरकार आएदेखि तातोपानी नाका बन्द

नाकामै थन्किए मालवाहक गाडी, सास्ती खेप्दै व्यापारी

काठमाडौं । नेपाल–चीन व्यापारको मुख्य बिन्दु मानिने तातोपानी नाका पछिल्लो चार दिनदेखि बन्द अवस्थामा छ । शुक्रबार नयाँ सरकार गठन भएदेखि बन्द भएको नाका आजसम्म खुल्न सकेको छैन । 

तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र चुडालका अनुसार चार दिनदेखि सो नाका अवरुद्ध छ ।

नयाँ सरकार आए लगत्तै बन्द प्रमुख व्यापारिक नाका बन्द हुनुलाई धेरैले संशयका रूपमा लिएका छन् । यसलाई कतिपय नेपाल र चीनबीचको कुटनीतिक चालका रूपमा बुझेका छन् । 

नजिकै कोदारी इको क्षेत्रमा गएको पहिरोका कारण विगत पहिरोले बाटो बिग्रिएपछि चीनबाट सामान लिएर आएका सयौं मालवाहक ट्रकहरू सीमा क्षेत्रमै रोकिएको प्रमुख भन्सार अधिकृत चुडालको भनाइ छ । 

नेपाल–चीन सीमाभन्दा करिब २.५ किलोमिटर तल कोदारी इको क्षेत्रमा सडक भासिएकाले यो समस्या आएको हो । ‘अघिल्लो मनसुनमा समेत लामो समय बन्द भएको सोही स्थानमा अहिले पुनः पहिरो खस्दा बाटो अवरुद्ध भएको छ,’ उनले भने । 

‘भूकम्पका कारण त्यहाँको जमिन निकै कमजोर भएको देखिन्छ । बालुवा र गिट्टी मिसिएको माटो भएकाले वर्षा नहुँदा पनि सुक्खा पहिरो जस्तो खसिरहेको छ । करिब १०० मिटरको क्षेत्र निकै जोखिमपूर्ण छ,’ उनले थपे ।

 पहिरोले सडकको केही भाग करिब २.५ मिटर तलसम्म खसेको उनले जानकारी दिए । बाटो अवरुद्ध भएपछि चीनतर्फ सामान लोड भएका गाडीहरूको लामो जाम लागेको छ । थप जाम नहोस् भन्नका लागि बाटो नखुलेसम्म गाडीहरू नपठाउन चिनियाँ पक्षलाई समेत समन्वय गरिएको चुडालले बताए । 

‘हामीले उताबाट आउने गाडीहरूलाई अलि ढिलो गर्न भनेका छौं, किनकि यहाँ बाटो नबनी गाडी भित्र्याउन सक्ने अवस्था छैन,’ प्रमुख भन्सार अधिकृत चुडालले भने । 

अहिले डोजर प्रयोग गरेर सडक मर्मत र पहिरो पन्छाउने काम भइरहेको छ । अब छिट्टै बाटोको ट्र्याक खोलेर गाडीहरूलाई सुरक्षित स्थान (यार्ड) सम्म ल्याउने प्रयास भइरहेको उनको भनाइ छ । 

मौसमले साथ दिएमा र थप पहिरो नखसेमा आज (मंगलबार) देखि नै सवारी साधनहरू सुचारु हुन सक्ने उनको अनुमान छ । सामानहरू मान्छेलाई बोकाएर तार्ने विकल्प भए पनि त्यो निकै महँगो र झन्झटिलो हुने भएकाले व्यवसायीहरू सडक खुल्ने नै पर्खाइमा छन् । 

Share News