गंगासागर क्षेत्रमा डोजर, अतिक्रमित संरचना हटाइँदै

काठमाडौं । मधेस प्रदेश सरकारको सक्रियतासँगै जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गंगासागर पोखरी क्षेत्रबाट अतिक्रमण हटाउने अभियान तीव्र पारिएको छ ।

गृह, सञ्चार तथा कानूनमन्त्री फकिरा महतोको पहलमा आइतबार पोखरी आसपासका अवैध संरचना हटाउन डोजर प्रयोग गरिएको हो ।

जनकपुरधाम उपमहानगरपालिका र जनकपुरधाम उद्योग वाणिज्य संघको सहकार्यमा सञ्चालन गरिएको उक्त अभियानले लामो समयदेखि विवादमा रहेको गंगासागर क्षेत्रलाई पुनः व्यवस्थित गर्ने लक्ष्य लिएको जनाइएको छ । स्थानीय प्रशासन, प्रहरी तथा नगरप्रहरीको उपस्थितिमा अतिक्रमित संरचना हटाइँदा केही स्थानमा सामान्य तनावसमेत देखिएको थियो ।

गृहमन्त्री महतोले गंगासागर पोखरीको संरक्षण धार्मिक आस्थासँग मात्र नभई ऐतिहासिक पहिचान र पर्यटन प्रवर्द्धनसँग समेत जोडिएको विषय भएको उल्लेख गरे ।

उनले प्रदेश सरकार सार्वजनिक सम्पत्तिको संरक्षणमा कठोर ढंगले प्रस्तुत हुने स्पष्ट पार्दै आवश्यक परे अन्य क्षेत्रमा पनि यस्तै अभियान सञ्चालन गरिने बताए । स्थानीयवासीले वर्षौंदेखि अतिक्रमणका कारण पोखरी क्षेत्र साँघुरिँदै गएको गुनासो गर्दै आएका थिए । पछिल्लो कदमलाई धेरैले सकारात्मक रूपमा लिएका छन् भने केही व्यवसायीले वैकल्पिक व्यवस्थाविनै हटाइएको भन्दै असन्तुष्टि जनाएका छन् ।

Share News