देउवा, ओली र प्रचण्डको सम्पत्ति छानबिन सुरु हुँदा छुटे यी तीन पूर्वप्रधानमन्त्री

सरकारले पूर्वप्रधानमन्त्रीसहित पदाधिकारीहरुको सम्पत्ति छानबिन गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारले तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अगाडि बढाएको छ । रास्वपाले आफ्नो चुनावी वाचापत्र र शनिबार सार्वजनिक गरेको शासकीय सुधारका एक सय काममा उल्लेख गरेको सार्वजनिक पदमा रहेकाहरुको सम्पत्ति छानबिन गर्नेअनुसार नै प्रक्रिया अगाडि बढाएको छ । 

बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)को सम्पत्ति छानबिनको प्रक्रिया अघि बढाएको छ । सम्पत्ति शुद्धीकरण विभागले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई पत्राचार गरेपछि सीआईबीले अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।

गत भदौमा भएको जेनजी आन्दोलनमा शेरबहादुर देउवाको घरमा पैसा भेटिएको थियो । त्यसपछि विभागले देउवा निवासमा पुगेर मुचुल्का समेत उठाएको थियो । 

देउवासँग प्रचण्डपुत्री गंगाको निवासमा पनि ठूलो परिमाणमा पैसा भेटिएको विषय बाहिरिएको थियो । त्यतिबेलै दाहालले नेताको घरमा त्यो पैसा हुनु स्वभाविक भएको प्रतिक्रिया दिएका थिए । जेनजी आन्दोलनमै प्रहरीले बालकोटस्थ्ति ओली निवासमा समेत पुगेर मुचुल्का उठाएर अनुसन्धान अघि बढाएको थियो । अहिले सोही अनुसन्धानलाई तीव्रता दिइएको हो । 

रास्वपा सरकारले शनिबार शासकीय सुधारका एक सय कार्यसूची सार्वजनिक गर्दै देशमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा दण्डहीनताको अन्त्य गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहने गरी १५ दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो । 

उक्त समितिलाई आवश्यक कागजात, विवरण तथा अभिलेख सङ्कलन, विश्लेषण तथा सिफारिस गर्ने लगायतका अधिकार प्रदान गर्ने, पहिलो चरणमा वि.सं. २०६२/६३ देखि हाल (२०८२/८३) सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति विवरणको सङ्कलन, प्रमाणीकरण तथा छानबिन गर्ने सरकारको योजना छ । 

दोस्रो चरणमा वि. सं. २०४८ सालदेखि २०६१/६२ सम्मको अवधिमा सार्वजनिक पद धारण गरेका सोही प्रकृतिका पदाधिकारी तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने योजना सरकारको छ । 

null

सरकारले तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अगाडि बढाउँदा तीन पूर्वप्रधानमन्त्री भने छुटेका छन् । पूर्वप्रधानमन्त्रीहरु डा. बाबुराम भट्टराई, झलनाथ खनाल र माधव नेपालबारे अहिले अनुसन्धान आगाडि बढाइएको छैन । 

डा. भट्टराई २०६८ देखि २०६९ चैतसम्म प्रधानमन्त्री बनेका थिए भने खनाल २०६६ देखि ६७ सालसम्म प्रधानमन्त्री बनेका थिए । खनाल पनि २०६७ मै ६ महिना प्रधानमन्त्री बनेका थिए । 

देउवा, ओली र प्रचण्ड भने पटक प्रधानमन्त्री बनेका छन् । 
 

Share News