अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमालेले काठमाडौं जिल्ला प्रशासनमा बुझायो विरोधपत्र

काठमाडौं । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाएको छ । 

पार्टीको शनिवार बसेको सचिवालय बैठकको निर्णय बमोजिम पार्टीले जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र पत्र बुझाएको हो । 

अध्यक्ष ओलीको विरोधमा एमालेले आज देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउन माग गरेको छ। 

एमालेका काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले विरोधपत्रमा संविधान, मानवअधिकार र विधिको शासनविपरीत गरिएका कदम तत्काल सच्याउँदै ओलीसहित सबैलाई सम्मानजनक व्यवहार सुनिश्चित गर्न माग गरेको बताए । 

उनले जेनजी आन्दोलन जाँचबुझ आयोगको विवादित प्रतिवेदन खारेज गरी निष्पक्ष र स्वतन्त्र छानबिन आयोग गठन गर्नुपर्ने तथा घटनासँग सम्बन्धित सम्पूर्ण पक्षको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्ति सुनिश्चित गर्नुपर्ने समेत बताए । 

उनले नागरिक अधिकार र स्वतन्त्रताको रक्षा गर्न सरकार जिम्मेवार हुनुपर्ने समेत उल्लेख गरे ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर पौडेलले विकसित राजनीतिक घटनाक्रमका कारण कुनैपनि अप्रिय घटना हुन नदिन स्थानीय प्रशासन सचेत रहेको बताए । 

उनले आफूहरू राजनीतिक विषयमा प्रवेश नगर्ने तर हिंसात्मक र अशान्ती फैल्याउने गतिविधि रोक्ने कुरामा सचेत भएर लागिरहेको पनि बताए ।

Share News