काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल माथि पनि अनुसन्धान सुरु गरेको छ ।
विभागले नेपाली कांग्रेसका पूर्वसभापति देउवा र नेकपाका संयोजक दाहालमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान थालेको हो ।
विभाग स्रोतका अनुसार जेनजी आन्दोलनमा पूर्वप्रधानमन्त्रीका घरमा जलेका बेला फेला परेका नोटका टुक्रा र धुलोको परीक्षण गरिएको थियो ।
विभाग स्रोतले विकासन्युजलाई भन्यो, ‘केही पूर्व प्रधानमन्त्रीहरूको सम्पत्ति शुद्धीकरणमा जेनजी आन्दोलनदेखि अनुसन्धान सुरु गरिएको छ । अहिले पनि अनुसन्धानको प्रक्रियामै छ ।’
आजैमात्र देउवाको बुढानीलकण्ठ निवास भत्काउन नेपाल प्रहरीले रोकेको छ । प्रहरीले प्रमाणहरू नष्ट हुने भन्दै घर भत्काउन नदिएको हो ।
सरकारले देउवा परिवारको सम्पत्ति र जेनजी आन्दोलनमा भेटिएको पैसाको छानबिन गर्न लागिएको बुझिएको छ।
त्यसैगरी, आइतबार बिहान पूर्वमन्त्री दीपक खड्कालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार बिहान पक्राउ गरेको हो ।
गृहमन्त्री सुधन गुरुङका अनुसार उनलाई सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि पक्राउ गरिएको हो ।
जेनजी आन्दोलनअघि खड्का ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीसमेत बनेका थिए ।