स्थानीय उत्पादनलाई बजार अभाव

काठमाडौं । बागलुङमा लाग्ने चैते दसैँ मेलालाई स्थानीय उत्पादनको बजारीकरण गर्ने माध्यमका रुपमा लिइन्छ । तर पछिल्लो समय आयातित वस्तुको कारण ग्रामीण क्षेत्रका उत्पादन ओझेलमा परेका छन् । मेला सुरु हुनु अगावै बागलुङका ग्रामीण क्षेत्रसहित पर्वत, म्याग्दी, कास्की, तनहुँ, स्याङजालगायत देशैभरबाट व्यापारका लागि आएका व्यापारी यसपालि त्यति उत्साहित देखिएनन् ।

आयातित वस्तुको व्यापार राम्रो भए पनि गाउँबाट लिएका चोयाको डाली, नाङ्लो, मुडा, काठको ठेकी, मदानी सहितका सामग्रीको व्यापार राम्रो नभएको व्यापारी बताउँछन् । कालिका मन्दिर परिसरमा चैत १० गतेदेखि मेला लागेको छ । मेला भर्न आउने दर्शकले लत्ताकपडा, प्लास्टिकका भाँडा किनमेल गरे पनि स्थानीय उत्पादनतिर खासै चासो नदिएको म्याग्दीबाट काठका ठेकी बिक्री गर्न आएका लिलबहादुर चुँदाराले बताए । 

आफू ३७ वर्षदेखि निरन्तर चैते दसैँ मेलामा ठेकी बिक्रीका लागि आएको भन्दै उहाँले पछिल्लो एक दशकमा व्यापार निकै कम भएको बताए । पहिले गाउँमा धेरैले वस्तुभाउ पाल्ने, दूध, दही र मही बनाउने गरे पनि हिजोआज बजारबाटै दूध किनेर उपभोग गर्न थालेपछि काठका ठेकी र मदानी बिक्री हुन छोडेको चुँदाराले बताए ।

उनले भने, ‘हामीले वर्ष भरि गाउँमा ठेकी, मदानी लगायत थुप्रै काठका सामान बनाउने र चैते दसैँमा लिएर बिक्री गर्थ्यौं, बिक्री पनि धेरै हुन्थ्यो, कमाइ पनि राम्रै हुन्थ्यो, त्यही कमाइले वर्ष भरि परिवार चलाउँथ्यौँ, अहिले त दिनभरि कुरेर बस्यो, ५-७ वटा पनि बिक्री हुँदैन, आउने जाने भाडा पनि नउठ्ला भन्ने चिन्ता छ ।’

कास्कीको माछापुच्छ्रेबाट चोयाको डालो बिक्रीका लागि आएका तुलमान गुरुङले प्लास्टिकका भाँडाकुँडाले स्थानीय उत्पादनलाई विस्थापित गर्न थालेको बताए । विगत २२ वर्षदेखि चैते दसैँ मेलामा डाली बिक्री गर्न आएको भन्दै ३ वर्षदेखि व्यापार निकै कम भएको उनको भनाइ छ । व्यापार गर्न आउँदा गाडी भाडा नै हजारौं तिर्नुपरेको भन्दै उनी मेला सकिँदासम्म बिक्री नहुँदा सित्तैमा दिनुपर्ने अवस्था रहेको बताउँछन् ।

‘यो मेला पनि पहिलेको जस्तो रमाइलो छैन, उति बेला सबै गाउँ ठाउँमा नाचगान हुन्थ्यो, अहिले त के-के गराए यस्तो ?, न व्यापार राम्रो हुन्छ,’ गुरुङले भने, ‘पहिले गाउँमा भएका सबै उत्पादन बोकेर ल्याउँथ्यौँ, माग धेरै हुन्थ्यो, फर्किने बेला एक डेढ लाख रुपैयाँ बोकेर फर्किन्थ्यौँ, अहिले त पहिलाभन्दा धेरै कम डालो नाङ्लो ल्याएर आएको त्यही पनि बिक्री नभएर यतिकै राखिरहेका छौँ ।’

बागलुङको बडिगाड गाउँपालिका-४ जलजलाबाट हरेक वर्ष १५-२० जना स्थानीय डालो बिक्रीका लागि आउने गर्छन् । यसपालि पनि आएका छन् । तर अघिल्लो वर्ष व्यापार कम हुँदा यसपालि पहिलेको जति व्यापारी आएनन् । मेलामा स्थानीय उत्पादन बिक्री मात्रै गर्न व्यवस्थापन मिलाउनुपर्ने चन्द्र बहादुर विकले बताए । पछिल्लो समय स्थानीय उत्पादनभन्दा आयातित सामानप्रति नागरिकको आकर्षण बढी भएको हुँदा मौलिक सीप र सामानले बजार नपाएको उनले गुनासो गरे । 

Share News