गुरुका कारण ‘सुधन बने, अहिले ‘गृहमन्त्री’

काठमाडौं । ‘गुरुलाई ढोग्थें । सम्मान गर्ने बानी पहिलेदेखि नै थियो । गुरुको कारण बनेको सुधन हुँ,’ करिब तीन महिनाअघि सुधन गुरुङले एक टीभी अन्तर्वार्ताका क्रममा भनेका थिए । तिनै गुरुङ आज मुलुकको गृहमन्त्री बनेका छन् । गुरुले समाज र राष्ट्रको महत्त्व बुझाउने तिनै गुरुङले आजदेखि गृह प्रशासनको बागडोर सम्हाल्ने छन् ।

गुरुङ फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनमा गोरखा १ बाट २९ हजार ८९६ मत पाएर विजयी भएका थिए । 

गुरुङ जेनजी आन्दोलनबाट उदाएका नेता हुन् । यहीँ आन्दोलनले उनको जीवनमा राजनीतिक परिवर्तन ल्याएको हो 

गुरुङको सक्रियता आन्दोलनपछि पनि  उत्तिकै थियो । उनले सरकार सुशीला कार्कीको नेतृत्वको अन्तरिम सरकार बनाउन अहम भूमिका खेलेका थिए । कार्की प्रधानमन्त्री बनेपछि उनले राष्ट्रपति कार्यालयमा खुट्टासमेत ढोगेका थिए। कार्की नेतृत्वको सरकारमा उनको हस्तक्षेपकारी भूमिका थियो ।

गुरुङको जन्म गोरखाको दुर्गम चुमनुम्रीमा २०४४ सालमा सामान्य परिवारमा भएको थियो ।आमासँग सम्बन्धविच्छेदपछि उनको बुवा रोजगारीका लागि भारत गए । तीनजना काकामध्ये कान्छा काकाले सुधनलाई आफ्नै परिवारसँग राखे । उनी हजुरवुवासँग बसेर हुर्किएका हुन् । 

पढाइमा भने सुधन सफल हुन सकेनन् । कक्षा १० मा असफल भएपछि उनले पढाइ छाडे ।

सुरुमा कल सेन्टरमा काम गरेर सुधनले गुजारा चलाए । पाँच–छ वर्षपछि उनी ठमेलका क्लब र पार्टीहरूमा डीजे बने । ‘डीजे सुधन’ नामले ठमेलका क्लबबीच उनी परिचित भए । 

ठमेलमा उनले पैसा मात्र कमाएनन्, ठूलो नेटवर्क पनि बनाए । 

उनले ‘हामी नेपाल’ नामको गैरसरकारी संस्था स्थापना गरे । यो संस्थाले २०७२ को भूकम्प, कोभिड महामारीमा काम गरेको थियो । विशेषगरी यसले युवा सशक्तिकरणमा काम गर्छ । 

सुधनको सम्पर्क राजनीतिदेखि व्यवसायीसम्म, विदेशी पाहुनादेखि एनजीओसम्म थियो।

२०७२ सालको विनाशकारी भूकम्पमा वीर अस्पताल र ट्रमा सेन्टरमा शव र घाइतेको भीड बढ्दा गुरुङ उद्धारमा सक्रिय थिए । उनले स्वयंसेवक परिचालन गरी अस्पताललाई सहज बनाए । त्यहीँबाट उनले ‘सामाजिक अभियन्ता’को परिचय बनाएका हुन् ।

गुरुङ आफूलाई सामाजिक सेवामा आफ्नै खर्च गर्ने र पारदर्शितामा जोड दिन चाहन्छन् ।

Share News