इरानको ‘दोहोरो चरित्र’ विरुद्ध ट्रम्पको अन्तिम चेतावनी– छिट्टै गम्भीर नबने ढिलो हुनसक्छ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानबीचको कुटनीतिक तनावले नयाँ र उग्र मोड लिएको छ । इरानले वार्ताका सम्बन्धमा देखाएको ‘दोधारे नीति’ प्रति आक्रोश व्यक्त गर्दै राष्ट्रपति ट्रम्पले तेहरानलाई गम्भीर हुन अन्तिम चेतावनी दिएका छन् ।

बिहीबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रूथ’ मा लेख्दै ट्रम्पले इरानी नेतृत्वलाई ‘अनौठो’ को संज्ञा दिएका छन् । ट्रम्पका अनुसार इरानले पर्दा पछाडि सम्झौताका लागि अनुनय गरिरहेको छ, तर सार्वजनिक रूपमा भने प्रस्तावलाई बेवास्ता गरेको नाटक गरिरहेको छ । 

उनले भनेका छन्, ‘इरानको सैन्य शक्ति लगभग समाप्त भइसकेको छ, त्यसैले उनीहरू सम्झौता गर्न बाध्य छन् । यदि उनीहरू समयमै गम्भीर भएनन् भने परिस्थितिले यस्तो मोड लिनेछ, जहाँबाट फर्किने कुनै बाटो रहने छैन ।’

यसअघि ट्रम्पले इरान आफ्नै जनताको विद्रोहबाट डराएका कारण वार्ताको टेबुलमा आउन हिचकिचाइरहेको दाबी गरेका थिए ।

तनाव कम गर्न ट्रम्प प्रशासनले पाकिस्तानको मध्यस्थतामार्फत इरानलाई १५ बुँदे युद्धविराम प्रस्ताव पठाएको छ । जसमा मुख्य गरी इरानको परमाणु र ब्यालिस्टिक मिसाइल कार्यक्रमको पूर्ण अन्त्य, हुथी र हिजबुल्लाह जस्ता प्रोक्सी समूहहरूलाई दिइँदै आएको समर्थन बन्द, यसको बदलामा अमेरिकाले आर्थिक प्रतिबन्ध खुकुलो पार्ने र ‘स्ट्रेट अफ हर्मुज’  मा आंशिक साझा नियन्त्रण दिने प्रस्ताव अघि सारेको छ ।

इरानका ५ कडा शर्तहरू सुरुमा अमेरिकी प्रस्तावलाई ‘अपमानजनक’  भनेको इरानले हाल आफ्ना ५ वटा काउन्टर शर्तहरू अघि सारेको छ । 

जसमा सैन्य आक्रमणको पूर्ण अन्त्य, भविष्यमा युद्ध नहुने सुरक्षा ग्यारेन्टी, युद्धको क्षतिपूर्ति, क्षेत्रीय स्तरमा पूर्ण युद्धविराम र सामुद्रिक अधिकारको कानुनी मान्यता रहेका छन् ।

Share News