हुण्डाई एसेम्बली बन्दै ज्ञानको पाठशाला

काठमाडौं । नवलपरासीको रामग्राममा सञ्चालित लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी हुण्डाई एसेम्बली प्लान्टले नेपालको अटोमोबाइल क्षेत्रलाई नयाँ परिभाषा दिएको छ । अब हुण्डाई केवल सडकमा गुड्ने विदेशी ब्रान्ड मात्र रहेन, यो नेपाली इन्जिनियरहरूको सीप र पसिना मिसिएको स्वदेशी गौरवसमेत बनेको छ ।

लक्ष्मी ग्रुपको लगानी र हुन्डाई मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा लक्ष्मी मोटर कर्पोरेशन स्थापना गरिएको हो । कर्पोरेशनले २०७६ सालमा ५ अर्ब १० करोड रुपैयाँ लागतमा एसेम्बल उद्योग दर्ता गरेको थियो ।

धेरैलाई लाग्न सक्छ, एसेम्बली भनेको विदेशबाट आएका पाटपूर्जा जोड्नु मात्र हो । तर, लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलिया यसलाई अलि फरक ढंगले व्याख्या गर्छन् । उनी भन्छन्, ‘यो केवल गाडी जोड्ने केन्द्र होइन, यो त एउटा ज्ञान विद्यालय हो ।’

null

दीपक थपलिया । 

नेपालको शैक्षिक प्रणाली र उद्योगबीच सधैं एउटा ठूलो खाडल रहने गरेको छ , विद्यार्थीसँग थ्योरी छ, तर प्रयोगात्मक सीप छैन । हुण्डाईको यो पहलले उक्त खाडल पुर्ने काम गरेको छ । यहाँ नेपाली इन्जिनियर र प्राविधिकहरूले गाडीको कोडिङ र क्यालिब्रेसनजस्ता जटिल प्राविधिक कामहरू आफ्नै हातले गरिरहेका छन् । यो एउटा यस्तो थलो बनेको छ, जहाँ त्रिवि शिक्षण अस्पतालमा इन्टर्न गरिरहेका चिकित्सकले जस्तै प्राविधिकहरूले काम गर्दै सिक्ने अवसर पाइरहेका छन् ।

डेढ वर्षअघिसम्म लक्ष्मी हुण्डाईको बोर्ड बैठकमा गाडी कसरी धेरै बिक्री गर्ने र ग्राहक कसरी खुसी पार्ने  भन्ने विषयमा मात्र छलफल हुन्थ्यो । तर आज परिवेश फेरिएको छ ।

महाप्रबन्धक थपलियाका अनुसार अहिले बैठकमा कति कच्चा पदार्थ खेर गयो ? कागजदेखि फलामका टुक्रालाई कसरी पुनः प्रयोग गर्ने ? र खेर गएका वस्तुबाट नयाँ के बनाउन सकिन्छ ? भन्ने विषयमा विमर्श हुन्छ । यो परिवर्तनले व्यापारिक मानसिकतालाई औद्योगिक मानसिकतामा रूपान्तरण गरिदिएको छ । यसले कर्मचारीहरूलाई केवल ‘सेल्सम्यान’ मात्र होइन, इनोभेटर बन्नसमेत प्रेरित गरेको छ ।

नवलपरासीको १० बिघा क्षेत्रफलमा फैलिएको यो प्लान्टमा २ अर्ब ६५ करोड रुपैयाँ लगानी भएको छ । वार्षिक ५ हजार गाडी उत्पादन गर्न सक्ने क्षमताको यस उद्योगले प्रत्यक्ष रूपमा ३ सय जनालाई रोजगारी दिएको छ । तर, यसको प्रभाव यतिमा मात्र सीमित छैन ।

यसले लेयर इकोनोमी (तहगत अर्थतन्त्र) सिर्जना गरेको छ । प्लान्टका कारण हजारौं परिवार अप्रत्यक्ष रूपमा आश्रित छन् । लजिस्टिक पार्टनर, चालकहरू, स्थानीय खाद्य उद्योग र ईभी चार्जिङ स्टेशनहरूको विस्तारले स्थानीय स्तरमा आर्थिक चहलपहल बढाएको छ । राजधानी केन्द्रित विकासलाई विकेन्द्रीकरण गर्दै मोफसलमा औद्योगिक सम्भावनाको ढोका यसले खोलेको छ ।

null

विश्वभर गाडी उत्पादनका पाँच मुख्य चरण हुन्छन् । जसमा प्रेस, बडी, पेन्ट, एसेम्बली र परीक्षण । नेपालको वर्तमान अवस्था र दक्षतालाई मध्यनजर गर्दै हुण्डाईले अन्तिम तीन चरण, एसेम्बली, टेस्टिङ र क्वालिटी एश्योरेन्सबाट काम सुरु गरेको छ ।

‘सरकारले जति राम्रो वातावरण बनाउँदै जान्छ, हामी त्यति नै अघिल्ला चरणहरू (प्रेस र पेन्ट शप) मा प्रवेश गर्दै जानेछौं,’ थपलिया भन्छन् ।

सरकारले ईभी गाडी आयातमा दिने सहुलियत र स्वदेशी उत्पादनलाई दिने प्रोत्साहनबीच सन्तुलन मिलाउन सके नेपाल छिट्टै अटोमोबाइलमा आत्मनिर्भर बन्न सक्ने उनको भनाइ छ । 

सुरुवातकालीन अवस्थामा पुस्टकारी बेच्ने लक्ष्मी ग्रुपले हालसम्म आइपुग्दा आफूलाई निकै परिष्कृत गराएको छ । हाल लक्ष्मी ग्रुपले मिठाइबाहेक अटोमाबोइल, इलेक्ट्रोनिक्स, प्लास्टिक, ट्रेडिङ र स्टिल उत्पादन व्यवसाय सञ्चालन गर्दै आइरहेको छ ।

देशभरि ग्रुपका २० भन्दा धेरै कम्पनी छन् । जसमा करिब २ हजारले रोजगारी पाइरहेका छन् ।

सुजल फुड प्रालि, लक्ष्मी इन्टरकन्टिनेन्टलको हुन्डाई तथा एमएमएल इसुजु, सुजल डेरी प्रालि, समृद्धि स्टिल्स, सिद्धि लक्ष्मी स्टिल्स, जयमा इन्टरकन्टिनेन्टल, जयमा लक्ष्मी टेक्नो सेन्टरलगायत व्यवसाय लक्ष्मी ग्रुपअन्तर्गत छन्।

अटो बजारमा लक्ष्मी इन्टरकन्टिनेन्टलको पृथक परिचय, नेपालमै गाडी बनाएर रच्यो इतिहास

Share News