कार्की आयोगको प्रतिवेदन अपूर्ण रहेको कांग्रेसको प्रारम्भिक प्रतिक्रिया

काठमाडौं । नेपाली कांग्रेसले जेनजी आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की आयोगले सार्वजनिक गरेको प्रतिवेदनलाई पहिलो नजरमै अपूर्ण रहेको टिप्पणी गरेको छ ।

पार्टी प्रवक्ता देवराज चालिसेले प्रतिवेदन सार्वजनिक भएलगत्तै प्रतिक्रिया दिँदै भदौ २३ को घटनाबारे विस्तृत अध्ययन गरिएको देखिए पनि भदौ २४ को घटनालाई पर्याप्त रूपमा समेट्न नसकिएको बताएका हुन् ।

उनले भने, ‘यो हाम्रो प्रारम्भिक प्रतिक्रिया मात्र हो। प्रतिवेदन पहिलो दृष्टिमै अपूर्ण देखिएको छ । भदौ २३ को आन्दोलनका विषयमा केही हदसम्म प्रकाश पारिएको छ, तर २४ गतेका घटनाहरूलाई प्रष्ट रूपमा उठान गरिएको छैन ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चालिसेले प्रतिवेदनको विस्तृत अध्ययनपछि मात्र पार्टीले औपचारिक धारणा सार्वजनिक गर्ने स्पष्ट पारे। उनले कानुनविद्हरूसँग समेत छलफल गरेर थप विश्लेषण गर्ने जानकारी दिए ।

कांग्रेसले प्रतिवेदनका अपूर्ण पक्षहरूबारे थप अध्ययन र बहस आवश्यक रहेको बताउँदै सम्बन्धित निकायलाई पनि गम्भीर बन्न आग्रह गरेको छ ।

Share News