पूर्वसीडीओको बयान- जेनजी आन्दोलन विकृति, विसंगति, अन्याय र  असमानताको परिणाम हो

काठमाडौं । भदौ २३ र २४ गतेको आन्दोलन मुलुकमा लामो समयदेखि रहेका विकृति, विसंगति, अन्याय र  असमानताको परिणाम रहेको काठमाडौं जिल्ला प्रशासन कार्यालयका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालले बताएका छन्।

जेनजी आयोगको जाँचबुझ प्रतिवेदनमा उनले मुलुकमा लामो समयदेखि रहेका विकृति, विसंगति, अन्याय र असमानताको परिणाम रहेको बताएका हुन् ।

नागरिकले विद्रोह नगरी नहुने परिस्थिति कस(कसका कारणले सिर्जना भयो भन्ने कुरा गहिरो अध्ययन नगरी एक–दुई जना सरकारी अधिकृतको कमजोरीले मात्र यति ठूलो घटना भयो भन्न नमिल्ने उनले उल्लेख गरेका छन् ।

फिल्डमा खटिएको सशस्त्र प्रहरीले नेपाल प्रहरीलाई सहयोग नगरेको गुनासो आफूले नेपाल प्रहरीका अधिकृतहरूबाट सुनेको रिजालले बताएका छन् । 

पदीय हैसियतले गर्नुपर्ने सबै जिम्मेवारी असल मनसाय र सक्षमताका साथ निर्वाह गर्दागर्दै पनि राज्य संयन्त्रले आँकलन गरेभन्दा बाहिरको परिस्थिति सिर्जना भएको रिजालको भनाइ छ ।

‘एउटा प्रमुख जिल्ला अधिकारीका रूपमा आफ्नो भूमिका पूरा गरेकै हुँ, तर राज्य संयन्त्रले आँकलन गरेभन्दा बाहिरको परिस्थिति सिर्जना भई सरकार प्रमुखले राजीनामा दिनुपर्ने र प्रधानमन्त्री तथा मन्त्रीहरूको जीवनरक्षाका लागि हेलिकप्टरबाट उद्धार गर्नुपर्ने अवस्था आयो भन्ने कारणले मात्र मलाई जिम्मेवार ठहर गर्नु न्यायोचित हुँदैन, उनले भने ।

प्रदर्शनमा सहभागी युवाहरूको ज्यान गएको र दर्जनौं घाइते भएको खबरले अत्यन्त मर्माहत भएको उनले बताएका छन् । 

भदौ २३ र २४ का घटनालाई असामान्य, अप्रत्याशित र राज्य संयन्त्रका लागि गम्भीर परीक्षाका रूपमा लिनुपर्ने रिजालको भनाइ छ ।

आफूले प्राप्त सूचना, कानुनी अधिकार र तत्कालीन परिस्थितिको मूल्याङ्कनका आधारमा सार्वजनिक हित, शान्ति सुरक्षा र नागरिकको जीउधनको संरक्षणलाई प्राथमिकतामा राखी निर्णय लिएको रिजालले बताएका छन् ।

Share News