सांसदहरूलाई निर्देशन दिँदै ओलीले भने- पार्टीविरुद्धको गतिविधि सह्य हुँदैन, संसदमा अनुशासन देखिनुपर्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सांसदहरूलाई कडा राजनीतिक निर्देशन दिएका छन् । 

पार्टी मुख्यालय च्यासलमा बिहीबार (आज) आयोजित अध्यक्षसँग सांसद कार्यक्रममा ओलीले सांसदहरूलाई देशको विचार पार्टीको विचार भएकोले त्यसैसँग मेल खानेगरी संसदमा बोल्नुपर्ने निर्देशन दिएका हुन् ।

कार्यक्रममा उनले सांसदहरूलाई सम्झाउँदै भने, ‘देशको विचार जे छ, त्यो पार्टीको विचार हुनुपर्छ । विचारमा आधारित अनुशासन र एकता प्रदर्शन संसदमा देखिनुपर्छ ।’ 

ओलीले यसक्रममा एमालेभन्दा प्रगतिशील र अनुशासित पार्टी अरू नभएको दाबी गर्दै सांसदहरूलाई आफ्नो कामबाहेक अरू मूल्याङ्कनमा ध्यान नदिन आग्रह गरेका छन् । 

उनले सांसदहरुलाई संसदमा एमालेको अनुशासन र एकताको प्रदर्शन गर्न जोड दिएका छन् । काम मात्रै मूल्याङ्कनको आधार रहेको उनको भनाइ छ । 

उनले पार्टी लाइनमा दृढ रहन र विवादास्पद विषयमा बाहिरका आलोचनाबाट विचलित नहुन सांसदहरुलाई निर्देशन पनि दिएका छन् ।

ओलीले भने, ‘पार्टी विरुद्धको गतिविधि सह्य हुँदैन ।’ 

उनले पार्टीको एकता र अनुशासन नै देशको हितमा आधारित हुने भन्दै सांसदहरूलाई जिम्मेवार हुन आग्रहसमेत गरे ।

ओलीले आफ्नो सम्बोधनमा एमालेविरुद्ध जारी राजनीतिक हमला र आलोचनालाई पनि केन्द्रबिन्दु बनाए । उनले कार्की आयोग र त्यसको प्रतिवेदनलाई यही सन्दर्भमा एउटा कडी भएको भन्दै आलोचना गरे । 

उनले भने, ‘पहिल्यै आफ्नो निष्कर्ष सुनाइसकेकाबाट फरक प्रतिवेदनको अपेक्षा गर्न सकिँदैनथ्यो उस्तै प्रतिवेदन आएको छ ।’

प्रधानमन्त्रीको जिम्मेवारीसम्बन्धी आयोगको निष्कर्षप्रति ओलीले गम्भीर प्रश्न उठाएका छन् । उनले मृत्युका घटनामा प्रधानमन्त्री कति जनाको मृत्युमा जिम्मेवार हुने भन्ने विषयमा विवाद उठाउँदै प्रतिवेदनलाई औपचारिक रूपमा खारेज गर्ने संकेत दिएका छन् । 

उनी भन्छन्, ‘आयोगका सदस्यहरूले लापरवाही र भवितव्यबारे पर्याप्त बुझाइ नभएको अवस्थामा प्रतिवेदन तयार पारेका छन् ।’

पार्टीको अनुशासन, विचार र एकता संसदमा देखिनुपर्ने र आयोगको विवादास्पद प्रतिवेदनलाई नजरअन्दाज गर्ने उनको नीति स्पष्ट देखिएको छ ।

Share News