काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले बिहीबार (आज) औपचारिक रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सदस्यहरूलाई शपथ गराएका हुन् ।
शपथसँगै नयाँ प्रतिनिधि सभाको शक्ति सन्तुलन स्पष्ट देखिएको छ । संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १८२ सदस्यसहित सबैभन्दा ठूलो दलका रूपमा उदाएको छ ।
यसैबीच, दोस्रो ठूलो दलका रूपमा नेपाली कांग्रेस ३८ सिटमा सीमित भएको छ भने नेकपा एमाले २५ सदस्यसहित तेस्रो स्थानमा झरेको छ । यस्तै, श्रम संस्कृति पार्टीका ७ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ४ सांसद प्रतिनिधि सभामा रहेका छन्। संसदमा एक जना स्वतन्त्र सदस्यसमेत छन् ।
नयाँ जनादेशले परम्परागत शक्तिहरूलाई पछाडि धकेल्दै नयाँ राजनीतिक शक्ति उदाएको स्पष्ट संकेत दिएको विश्लेषण भइरहेको छ । अबको सत्ता निर्माण, नेतृत्व चयन र नीतिगत दिशामा रास्वपाको भूमिकामाथि सबैको नजर केन्द्रित भएको छ ।