कर्मचारी सञ्चय कोषको ५ अर्ब ३० करोड मुनाफा वितरण

काठमाडौं । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा आर्जन गरेको कूल मुनाफाबाट सञ्चयकर्ता तथा योगदानकर्ताहरूलाई करिब ५ अर्ब ३० करोड रुपैयाँ मुनाफा वितरण गरेको छ ।

जसअनुसार कोषका सञ्चयकर्ताहरूको खातामा करिब ५ अर्ब १९ करोड रुपैयाँ र योगदानमा आधारित निवृत्तभरण कोषका योगदानकर्ताहरूको खातामा करिब १० करोड ५५ लाख रुपैयाँ जम्मा गरिएको छ ।

कर्मचारी सञ्चय कोष सञ्चालक समितिको फागुन २७ गते बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण स्वीकृत गर्दै, सञ्चयकर्ता र योगदानकर्ताको व्यक्तिगत खातामा रहेको मौज्दात रकममा १ प्रतिशत दरले मुनाफा वितरण गर्ने निर्णय गरेको थियो । कोषले आर्जन गरेको कूल मुनाफाको करिब ९० प्रतिशत रकम सञ्चयकर्तालाई वितरण गर्ने र बाँकी रकम विभिन्न कल्याणकारी तथा जगेडा कोषमा राख्ने गरेको छ ।

सञ्चयकर्ताले चालू आर्थिक वर्षमा ४.२५ प्रतिशत ब्याज प्राप्त गर्ने व्यवस्था रहेको छ भने सञ्चित रकमको सुरक्षणमा सञ्चयकर्ताले ९५ प्रतिशतसम्म विशेष सापटी ५.७५ प्रतिशत ब्याजदरमा पाउने छन् । यसरी मुनाफा र ब्याज जोड्दा कुल प्रतिफल ५.२५ प्रतिशत पुगेको छ ।

कोषले सञ्चयकर्ताको सेवाकालका आवश्यकता अनुसार विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, सरल सापटी र जग्गा खरिद सापटी पनि उपलब्ध गराउँदै आएको छ । साथै, सञ्चयकर्ता दम्पत्तीलाई स्वास्थ्य उपचार सोधभर्ना सुविधा, काजकिरिया अनुदान, सुत्केरी तथा शिशु स्याहार सुविधा, दुर्घटना क्षतिपूर्ति अनुदान जस्ता सामाजिक सुविधा पनि प्रदान गर्दै आएको छ ।

गत आर्थिक वर्षमा सुत्केरी तथा शिशु स्याहार सुविधामा १९ हजार १११ जना सञ्चयकर्तालाई करिब १४ करोड ३४ लाख, काजकिरिया अनुदानमा ६०५ जनालाई करिब २ करोड ४२ लाख, दुर्घटना क्षतिपूर्ति १७० जनालाई करिब ३ करोड ३९ लाख, स्वास्थ्य उपचार सोधभर्नामा ५ हजार ३५५ जनालाई करिब ३४ करोड र विशेष आर्थिक सुविधामा १७२ जना सञ्चयकर्तालाई करिब १ करोड ७३ लाख रुपैयाँ वितरण गरिएको छ ।

हाल कर्मचारी सञ्चय कोषमा ५ लाख ७८ हजार सञ्चयकर्ता र ९६ हजार निवृत्तभरण कोष योगदानकर्ता रहेका छन् ।

Share News