नयाँ बानेश्वरको वाणिज्य बैंकबाट भल्ट फुटाएर १८ केजी सुनचाँदी र ५ करोड लुटियो

काठमाडौं । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा रहेको राष्ट्रिय वाणिज्य बैंकबाट भदौ २४ गते ५ करोड नगद र १८ केजी सुनचाँदी लुटपाट भएको बैंकका सुरक्षागार्ड हरिराम थापा मगरले बयान दिएका छन् ।

२४ गते साँझ करिब साढे ७ बजे प्रदर्शनकारीहरूले आगजनी गरेर कार्यालयको भल्ट फुटाई करिब ५ करोड नगद १८ केजी सुनचाँदी लुटेर लगेको जेनजी आयोगको जाँचबुझ प्रतिवेदनमा उनले यस्तो बयान दिएका हुन् ।

‘२३ गतेको प्रदर्शनपश्चात हामीलाई २४ गते सिभिलमा ड्युटी बस्नु र आपतकालीन अवस्था आइलागे आफ्नो ज्यान जोगाउनु भन्ने आदेश थियो । २४ गते साँझ साढे ७ बजे प्रदर्शनकारीहरूले आगजनी गरी कार्यालयको भल्टसमेत फुटाई ५ करोड नगद र १८ केजी सुनचाँदी लुटपाट गरे,’ उनले भने ।

संसद भवनको ३ नम्बर गेटबाट प्रदर्शनकारीहरू २४ गते बिहान करिब साढे ११ बजे बजेतिर तोडेर संसद भवन प्रवेश गरेको पनि उनले उल्लेख गरेका छन् । संसद भवनबाट उनीहरूले ल्याटपट, ग्यास, जार, टेबलजस्ता सामग्रीहरू ओसारी रहेको पनि थापा मगरले बयानमा उल्लेख गरेका छन् ।

२३ गते प्रदर्शनको क्रममा आन्दोलनकारीहरूको गोली लागेर मृत्यु भएको कुरा सामाजिक सञ्जालबाट सुनी थाहा पाएको उनले प्रतिवेदनमा खुलाएका छन् ।

Share News