कपिलवस्तु घटना : सामाजिक सद्भाव भड्काउने र कुटपिटमा संलग्न थप ४ जना पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्जको बर्गदा घटनामा संलग्न थप ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

घटनापछि हिन्दु र मुस्लिम समुदायबीच द्वेष फैलाउने खोलको भिडियो सामाजिक सञ्जालमा राखेको आरोपमा चैत ९ गते बुद्धभूमि नगरपालिका वडा नम्बर ६  का मुस्ताक नाउ र कपिलवस्तु नगरपालिका वडा नम्बर १ का जितेन्द्र कहार पक्राउ परेको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिए ।

दुवैमाथि विद्युतीय कारोबार, २०६३ सम्बन्धी कसुरमा मुद्दा चलाई अदालतबाट ५ दिनको म्याद थप गरिएको छ । 

यस्तै, हिन्दु र मुस्लिम समुदाय बीचको विवादपछि कपिलवस्तु नगरपालिका– ४ कोदाहवामा मोटरसाइकलमा सवार मानिसलाई राकेर लाठी, हेटमेट, बाला र मुक्काले कुटपीट गरी मोबाइलमा समेत क्षति पुर्याई भिडियोसमेत सामाजिक सञ्जालमा राखेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

कपिलवस्तु नगरपालिका वडा नम्बर ४ का राज भन्ने दुर्गेश यादव, पवनकुमार गुप्तामाथि सार्वजनिक शान्ति खलल पार्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइएको सिंहले बताए ।

घटनामा पाँच-छ जनामध्ये २ जना मात्र पक्राउ गरिएको र अन्यको खोजी भइरहेको उनले बताए । सामाजिक सञ्जालमा द्वेष, हिंसा र सामाजिक सद्भाव खलल हुने खालका कुनै क्रियाकलाप र गतिविधि नगर्न प्रहरी आग्रह समेत गरेको छ ।
 
यसअघि मन्दिर तोडफोडको आरोपमा ६ जनालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाई सकेको छ ।

Share News