भदौ २३ को हत्याको आक्रोशले २४ गतेको घटना निम्त्यायो : रक्षा बम

काठमाडौं । जेनजी आन्दोलनकी अगुवा रक्षा बमले भदौ २३ गते ठूलो संख्यामा युवाहरूको हत्या भएको कारण नै भदौ २४ गतेको अप्रिय घटना घटेको बताएकी छन् । 

‘जेनजी जाँचबुझ आयोग’ को प्रतिवेदनमा आफ्नो धारणा राख्दै बमले अघिल्लो दिनको दमन र आक्रोशको परिणामस्वरूप २४ गते तोडफोड तथा आगजनीजस्ता घटनाहरू भएको उल्लेख गरेकी छन् ।

प्रदर्शनको क्रममा मादक पदार्थ सेवन गरेका व्यक्तिहरू प्रशस्त भेटिएको र उनीहरूलाई पटक–पटक सम्झाईबुझाई गर्दा उल्टै आफूहरूमाथि नै जाइलाग्ने गरेको अनुभव उनले सुनाइन् । 

प्रदर्शनमा राजवादी भनी परिचय दिनेदेखि लिएर सबै राजनीतिक दलका कार्यकर्ताहरूको सहभागिता रहेको आफूले महसुस गरेको प्रतिवेदनमा उल्लेख छ ।

घटनाको दिन नयाँ बानेश्वरमा एकजना मादक पदार्थ सेवन गरेका व्यक्ति हातमा बन्दुक लिएर उच्छृङ्खल रूपमा प्रस्तुत भइरहेको र प्रदर्शनमा कुनै समूह वा व्यक्तिले घुसपैठ गरी माहोल भड्काएको हुन सक्ने भन्दै बमले यस विषयमा छानबिन आयोगले सत्यतथ्य बाहिर ल्याई दोषीलाई कानुनी कारबाही गर्नेमा आशासमेत व्यक्त गरिन् । 

प्रदर्शनकारी र ब्यारिकेटमा रहेका सुरक्षाकर्मीबीच धकेलाधकेल हुँदै गर्दा सुरक्षाकर्मीले हतियार ताक्ने जस्ता कार्य गरेपछि स्थिति थप तनावपूर्ण बनेको उनले खुलाइन् । 

प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोडेर बानेश्वर चोक हुँदै संसद भवनभित्र छिर्न खोजेको खबर आएपछि सुरक्षाकर्मीले फायर गरेको र अवस्था जटिल बन्दै गएपछि आफूले स्कुल पोशाकमा रहेका विद्यार्थीहरूलाई वैकल्पिक बाटोबाट घर पठाउन पहल गरेको बमले प्रतिवेदनमा उल्लेख गरेकी छन् ।

बमले भदौ २३ र २४ गते सहिद भएका व्यक्तिका परिवारलाई राज्यले उच्च सम्मान दिनुपर्ने र घाइतेहरूको जीविकोपार्जनको उचित व्यवस्थापन गर्नुपर्ने मागसमेत गरेकी छन् । 

राज्यले दमन गरी गोली हानी हत्या गरेका शहीदहरूको न्यायका लागि दमन पक्षका जिम्मेवार व्यक्तिहरू र तोडफोड तथा आगजनी जस्ता विध्वंसात्मक कार्यमा संलग्न दुवै पक्षलाई कानुन बमोजिम कडा सजाय हुनुपर्ने उनको जोड छ ।

Share News