काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ८ महिना (साउन–फागुन) सम्म जीवन बीमा कम्पनीहरूले १ खर्ब २४ अर्बभन्दा बढीको व्यवसाय गर्न सफल भएका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ जीवन बीमा कम्पनीहरूले फागुन मसान्तसम्ममा १ करोड १५ लाख ४२ हजार ८३४ बीमालेख जारी गरेर १ खर्ब २४ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ व्यापारस भित्र्याउन सफल भएका हुन् ।
बीमा कम्पनीहरूले संकलन गरेको व्यवसाय अघिल्ला आवको तुलनामा १४.७३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवको यही अवधिमा बीमा कम्पनीहरूले १ खर्ब ८ अर्ब ७१ करोड १३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।
८ महिनाको अवधिमा सर्वाधिक व्यापार भित्र्याउने कम्पनीमा नेपाल लाइफ अगाडि छ । कम्पनीले फागुनसम्ममा ३२ अर्ब ९७ करोड ५७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
अघिल्लो आवको यही अवधिसम्ममा कम्पनीले २९ अर्ब ३९ करोड ८९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको व्यवसाय १२.१७ प्रतिशतले बढेको छ ।
दोस्रो धेरै व्यापार भित्र्याउनेमा नेसनल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले ८ महिनाको अवधिमा १५ अर्ब २१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। अघिल्लो आवको सोही अवधिमा कम्पनीले १३ अर्ब ६२ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको व्यवसाय १०.०८ प्रतिशतले बढेको छ ।
तेस्रो धेरै व्यापार भित्र्याउने कम्पनीमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) रहेको छ । उक्त कम्पनको व्यवसाय अघिल्लो आवको तुलनामा ७.१६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले अघिल्लो आवको फागुसम्ममा १२ अर्ब ५६ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेकोमा चालु आवको सोही अवधिसमममा १३ अर्ब ४६ करोड ३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
चौंथोमा हिमालयन लाइफले ११ अर्ब ७१ करोड ६२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ११ अर्ब २२ करोड २७ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको व्यवसाय ४.४० प्रतिशतले वृद्धि भएको छ ।
त्यसैगरी, राष्ट्रिय जीवन बीमा कम्पनीले ७ अर्ब ७४ करोड ३० लाख रुपैयाँ, सूर्यज्योति लाइफले ७ अर्ब ४३ करोड ८७ लाख रुपैयाँ, एसियन लाइफले ६ अर्ब ३८ करोड ४८ लाख रुपैयाँ, सिटिजन लाइफले ५ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ४ अर्ब ७६ करोड २८ लाख रुपैयाँ, आइएमई लाइफले ४ अर्ब २८ करोड ५५ लाख रुपैयाँ र मेट लाइफले ४ अर्ब २५ करोड १६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।
अघिल्लो आवको तुलनामा राष्ट्रिय जीवन बीमा कम्पनीको व्यापार ९५.१९ प्रतिशत, सूर्यज्योति लाइफले ११.११ प्रतिशत, एसियन लाइफको १२.०५ प्रतिशत, सिटिजन लाइफको १८.६१ प्रतिशत, सानिमा रिलायन्स लाइफको ३.९६ प्रतिशत, आइएमई लाइफको ३०.३४ प्रतिशत र मेट लाइफको ९.५५ प्रतिशतले व्यापार बढेको छ ।
त्यस्तै, अघिल्लो आवको तुलनामा रिलायबल नेपालको २३.०८ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १४.०७ प्रतिशत र सन नेपालको व्यापार १४.७३ प्रतिशतले बढेको छ ।
