काठमाडौं । इन्धनको मूल्य लगातार बढ्दै गएपछि सार्वजनिक यातायात क्षेत्र थप संकटमा परेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले तत्काल भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ ।
महासंघले बुधबार (आज) प्रेस विज्ञप्ति गर्दै सरकारले चाँडो निर्णय नगरे सेवा बन्द गर्नुपर्ने वा स्वघोषित रूपमा भाडा बढाएर सेवा सञ्चालन गर्न बाध्य हुने चेतावनी दिएको हो ।
नेपाल आयल निगमले गत चैत २ गतेदेखि लागू हुनेगरी डिजेलमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलमा १५ रुपैयाँ मूल्य बढाएपछि यातायात व्यवसायीहरू आर्थिक दबाबमा परेको महासंघको भनाइ छ । महासंघका अनुसार मूल्य अझै बढ्न सक्ने संकेतले व्यवसायी झनै चिन्तित बनेका छन् ।
महासंघले इन्धन मूल्यवृद्धिको असरलाई ध्यानमा राख्दै यातायात व्यवस्था विभागले पनि भाडा समायोजनका लागि सरकारलाई सिफारिस गरिसकेको जनाएको छ ।
विभागले वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार यात्रुवाहक सवारीमा ११.३३ प्रतिशत, तराई क्षेत्रमा मालवाहक सवारीमा ८.८१ प्रतिशत र पहाडी क्षेत्रमा १४.२९ प्रतिशत भाडा बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरिसकेको छ । तर, पटक-पटक अनुरोध गर्दा पनि मन्त्रालयले हालसम्म कुनै निर्णय नगरेको महासंघले जनाएको छ ।
‘अब धेरै दिन घाटामा सेवा सञ्चालन गर्न सकिँदैन,’ विज्ञप्तिमा भनिएको छ, ‘तत्काल भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुन सक्छन् ।’

यो पनि पढाैं- गाडी भाडा र जोर–बिजोर प्रणालीबारे विभागले मन्त्रालयमा पठायो प्रतिवेदन