सामूहिक अनुगमनबिनाको फरक एसईई

एसईई आउन ९ दिन बाँकी, देशभर पुगिसक्यो प्रश्नपत्र

काठमाडौं । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आउन अब ९ दिन मात्र बाँकी छ । एसईई दिने विद्यार्थीहरू यतिबेला परीक्षाको तयारीमा छन् भने एसईई परीक्षा सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डले पनि आफ्नो तयारी पुरा गरिसकेको जनाएको छ । 

बोर्डका अनुसार सबै विषयका प्रश्नपत्र र उत्तरपुस्तिका ७७ वटै जिल्लाको परीक्षा केन्द्रमा पुगिसकेका छन् । परीक्षाका लागि बोर्डले सबै तयारी पुरा गरिसकेको र अब परीक्षा सञ्चालन गर्ने दिन कुरेको बोर्डका परीक्षा उपनियन्त्रक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए ।

उनले काठमाडौं उपत्यका केही ठाउँमा प्रश्नपत्र र उत्तरपुस्तिका पुर्याउने कार्य भइरहेको र अन्य सबै जिल्लाका केन्द्रमा यस अगाडि नै पुर्याइसकेको उल्लेख गर्दै तयारी सबै पुरा गरिसकेको बताए । परीक्षा मर्यादित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न बोर्डले कुनै कसुर बाँकी नराख्ने ज्ञवालीको भनाइ छ । 

५ लाख ९ हजार ९ सय ६१ विद्यार्थी

यो वर्षको एसईई परीक्षामा सहभागी हुन पाँच लाख ९ हजार ९ सय ६१ जना विद्यार्थीले फाराम भरेका छन् । जसमा नियमिततर्फ ४ लाख ४६ हजार ५ सय ७६  विद्यार्थी छन् भने पूरकतर्फ ६३ हजार ४ सय ८५ विद्यार्थी रहेका छन् । फारम भर्नेमा २ लाख ५७ हजार ५ सय २७  छात्रा र २ लाख ५२ हजार ४ सय ३४ छात्र रहेका छन् । 

१ हजार ९ सय ९१ परीक्षा केन्द्र

परीक्षा बोर्डले एसईई परीक्षाका लागि जापानमा एकसहित देशभर १ हजार ९ सय ९१ परीक्षा केन्द्र तय गरेको बताएको छ । परीक्षा उपनियन्त्रक ज्ञवालीका अनुसार परीक्षा केन्द्रका लागि अधिकांश सामुदायिक विद्यालय तोकिएका छन् भने विद्यार्थी धेरै भएका र भौतिक संरचना राम्रा भएका निजी विद्यालयलाई पनि राखिएको छ । परीक्षाका लागि केन्द्राध्यक्ष पनि विद्यालयका प्रधानाध्यापकलाई नै तोकिएको बोर्डले जनाएको छ  । 

यो वर्ष देशभरका ११ हजार तीन सय ५९ विद्यालयका विद्यार्थीले परीक्षा दिँदैछन् । परीक्षालाई शान्तिपूर्ण बनाउन देशभर १२ हजारबढी सुरक्षाकर्मी खटाइने जनाइएको छ । 

जापानबाट एसईई दिने २३ जना विद्यार्थी

यो वर्षको एसईईका लागि बोर्डले जापानमा पनि परीक्षाकेन्द्र राखेको छ । उक्त परीक्षा केन्द्रबाट २३ जना विद्यार्थी परीक्षा दिने तयारीमा रहेका छन् । जापानमा रही त्यही अध्ययन गरिरहेका नेपाली विद्यार्थीलाई एसईईमा सहभागि गराइने सहमति भएसँगै नेपाली विद्यार्थीले जापानबाटै एसईई दिन पाउने भएका हुन् । 

जापानमा रहेका गैरआवासीय नेपालीहरूले जापानमा खोलेको एभरेष्ट इन्टरनेशनल स्कुल सञ्चालन गरिसकेपछि नेपालले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई त्यहीबाटै परीक्षा दिन पाउने सुविधा दिएको हो । 

यसका लागि बोर्डले  अनलाइनबाटै प्रश्नपत्र पठाउने र त्यहाँको परीक्षाको जिम्मा जापानमा रहेको नेपाली राजदूतावासका राजदूत र कर्मचारीबाट अनुगमन र निरीक्षण गर्ने जनाइएको छ । परीक्षा सकिएपछि त्यहाँको उत्तरपुस्तिका  नेपालमै ल्याउने र नेपालमै जाँच गरिने गरेको बोर्डले जनाएको छ ।

अनुगमन गर्न नपाइने

यो वर्षको परीक्षामा अनुगमन र निरीक्षणमा गएको टोलीले सामूहिक अनुगमन गर्न नपाइने भएको छ । परीक्षाका क्रममा विद्यार्थी त्यत्तिकै त्रासमा हुने भएकाले समूहमै टोली जाँदा झन त्रसित हुने बताउँदै बोर्डले यो वर्ष सामूहिक रूपमा अनुगमन गर्न नपाउने नियम बनाएको हो । 

‘विभिन्न संघ/संगठनका प्रतिनिधि समूहमा जाँदा विद्यार्थीको लेखन कार्यमा अवरोध हुने र त्रासको वातावरण सिर्जना हुने भएकाले हामीले यस्तो निर्णय गरेका हौं,’  परीक्षा उपनियन्त्रक ज्ञवालीले भने । 

बोर्डका अनुसार अब प्रत्येक जिल्लामा जिल्ला प्रमुखको संयोजकत्वमा गठन हुने जिल्ला परीक्षा समन्वय समितिका आधिकारिक प्रतिनिधिले परीक्षा केन्द्रको बाहिरबाट मात्र अनुगमन गर्न पाउने छन् । परीक्षा हल भित्र भने केन्द्राध्यक्ष र त्यो दिन खटिएका सम्बन्धीत व्यक्तिले मात्र निगरानी राख्न सक्नेछन् । पत्रकारलाई पनि परीक्षाहलभित्र प्रवेश गर्न नदिने र बाहिरबाट मात्र फोटो भिडियो गर्न दिने निर्णय बोर्डले यस अघि नै गरिसकेको थियो । 

कुन दिन कुन विषय ?

एसईई परीक्षा चैत्र १९ गते सुरु भई २९ गते सम्पन्न हुनेछ । जसमा पहिलो दिन चैत्र १९ गते अनिवार्य अंग्रेजी, २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते संस्कृति तथा वेदविद्याश्रमतर्फका विषयको परीक्षा हुनेछ । त्यस्तै २४, २५, २६, २७, २८ र २९ मा प्राविधिक धारतर्फका विषयको परीक्षा हुने छ । एसईई सकिएलगत्तै उत्तरपुस्तिका जाँच्न सुरु हुने र असार तेस्रो सातासम्म नतिजा निकाल्ने योजनापनि बोर्डले जनाएको छ ।

ढुक्क भएर परीक्षा दिन आग्रह

एसईई भन्नेबित्तिकै धेरै विद्यार्थीहरू आत्तिन्छन् । जसकारण धेरैजसो विद्यार्थीले आफूले जानेको प्रश्नको उत्तर पनि लेख्न सक्दैनन् ।  कुनै समय फलामेगेट भनेर चिनिने कक्षा १० को परीक्षालाई अन्य परीक्षाभन्दा फरक तरिकाले हेर्ने गरिन्छ । जसका कारण पनि विद्यार्थीहरू डराउने गर्छन्  । 

अहिले कक्षा १० लाई अन्य कक्षाजस्तै मात्र फरक एउटा बोर्ड परीक्षा भनिएपनि विद्यार्थी र अभिभावकको सोच अहिले पनि पुरानै रहेको शिक्षाका जानकारहरू बताउँछन् । परीक्षा उपनियन्त्रक ज्ञवाली यो वर्षको परीक्षा पनि विगतका वर्ष जस्तै हुने र यसमा कुनै नयाँ कुराहरू नथपिएकाले सहज रूपमा लिन विद्यार्थीलाई आग्रह गर्छन् । 

उनी भन्छन्, ‘हाम्रो पालामा एसएलसी भन्ने बित्तिकै ओहो भन्ने गरिन्थ्यो, जसरी हामी त्यो बेलाको फलामेगेट भन्थ्यौं । अधिकांश अभिभावकको मस्तिष्कमा पनि त्यस्तै छ र विद्यार्थीको सोच पनि त्यस्तै छ । परीक्षामा आत्तिएर भन्दा पनि सुझबुझ तरिकाले आफूले जानेको प्रश्नको उत्तर सहजै विद्यार्थीले लेख्न सक्नेछन् ।’

ज्ञवाली पहिलेको भन्दा केही विद्यार्थी सोच परिवर्तन भइसकेकाले विस्तारै सहज हुने अवस्था आउने बताउँछन् । उनी विद्यार्थीलाई कुनै त्रास नरहोस् र ढुक्क तरिकाले लेख्न सकून् भनेर यो वर्ष सामूहिक रूपमा गरिने अनुगमन पनि रोकेको बताउँछन् । 

‘यो परीक्षामा विद्यार्थी त्रसित हुने, आत्तिने गर्दा आएको प्रश्नको उत्तर पनि लेख्न नसकेको भेटियो,’ उनी भन्छन्, ‘यो डरलाई हटाउन पनि बोर्डले परीक्षा हलभित्र केन्द्राध्यक्ष र खटिएका कर्मचारीबाहेक अरूको अनुगमनलाई रोकेका छौं ।’

Share News