काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार पनि निरन्तर जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको बैठकमा हिजो प्रस्तुत गरिएका विभिन्न प्रस्तावहरूमाथि आज विस्तृत छलफल भइरहेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् ।
उनका अनुसार बैठकमा कुल ११ वटा एजेन्डामाथि केन्द्रित भएर नेताहरूले धारणा राखिरहेका छन् ।
बैठकमा शीर्षदेखि मध्यम तहसम्मका नेताहरूले आफ्ना विचार राख्ने क्रम जारी रहेको छ । सबै नेताहरूको धारणा संकलन गरिसकेपछि आजै बैठक सकाउने तयारी गरिएको कांग्रेस स्रोतले जनाएको छ ।
बैठकको मुख्य एजेन्डामध्ये आगामी १५ औं महाधिवेशनको कार्यतालिका महत्त्वपूर्ण रहेको छ । सभापति गगन थापाले हिजोको बैठकमा भदौ २४ देखि २६ गतेसम्म महाधिवेशन सम्पन्न गर्ने प्रस्तावित मिति प्रस्तुत गरेका थिए । सो प्रस्तावमाथि आज गम्भीर छलफल भइरहेको छ र सम्भवतः आजै अन्तिम निर्णय आउने अपेक्षा गरिएको बैठकमा रहेका एक नेताले जानकारी दिए ।
लामो समयदेखि महाधिवेशन गर्न नसकेका भातृ सङ्गठन तथा शुभेच्छुक संस्थाहरूको अवस्थाबारे पनि बैठकमा बहस भइरहेको छ । नेविसंघ, तरुण दल, महिला सङ्घ, दलित सङ्घ, लोकतान्त्रिक खेलकुद सङ्घ र नेपाल थारू संघले निर्धारित समयमा महाधिवेशन सम्पन्न गर्न नसकेको भन्दै ती संस्थाहरूको भविष्यबारे कठोर निर्णय हुन सक्ने संकेत ती नेताले गरे ।
बैठकमा आफ्नो धारणा राखिरहेका नेताहरूले ती संगठनहरूलाई विघटन गरेर नयाँ संरचनामा लैजानुपर्ने धारणा राखिरहेको एक केन्द्रीय सदस्यले जानकारी दिए । विशेषगरी नेविसंघको पछिल्लो निर्णयले थप विवाद सिर्जना गरेको छ ।
अध्यक्ष दुजाङ शेर्पाले नेविसंघलाई कांग्रेसको भातृ संस्थाबाट अलग भएको घोषणा गरेपछि संगठनभित्रै मतभेद चुलिएको छ ।