काठमाडौं । विभिन्न व्यक्तिको प्रलोभनमा परी कम्बोडिया पुगेका तथा त्यहाँ अवैधरूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनो तथा अन्य गैरकानुनी गतिविधिमा संलग्न गराइएका ५१ जना नेपाली नागरिकको उद्धार गरी स्वदेश फर्काइएको छ ।
नेपाली राजदूतावास बैंककको पहल तथा कम्बोडिया सरकारको सहयोगमा गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको सहजीकरणमा उनीहरूलाई नेपाल फर्काइएको हो । उद्धार गरिएका नेपालीहरू चैत १० गते कम्बोडियाबाट उडी चैत ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।
दूतावासका अनुसार अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपाली नागरिकलाई समेत स्वदेश फर्काउने पहल जारी रहेको छ ।
कम्बोडियामा नेपाली नागरिकलाई अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएको तथा भिसाविना वा भिसा अवधि सकिएपछि समेत बसिरहेको जानकारी प्राप्त भएपछि उद्धार प्रक्रिया अघि बढाइएको दूतावासले जनाएको छ । यस्तो अवस्थामा रहेका नेपाली नागरिकलाई नेपाल फर्कन सहजीकरणका लागि नेपाली राजदूतावास बैंकक वा गैरआवासीय नेपाली संघ कम्बोडियाका प्रतिनिधिहरूसँग यथाशीघ्र सम्पर्क गर्न अनुरोध गरिएको छ ।
स्क्यामिङ केन्द्रहरूमा काम गराइएका धेरै नेपालीको राहदानी कम्पनीले जफत गर्ने वा स्थानान्तरणका क्रममा हराएको गुनासो आएको दूतावासले जनाएको छ । त्यस्ता अवस्थामा नेपाल फर्कन चाहने नागरिकलाई दूतावासले निःशुल्क एकतर्फी यात्रा अनुमतिपत्र उपलब्ध गराउने व्यवस्था रहेको जानकारी दिइएको छ ।
कम्बोडियाको पर्यटनसम्बन्धी तथ्यांकअनुसार पछिल्ला वर्षहरूमा भ्रमण भिसामा कम्बोडिया जाने नेपालीको संख्या तीव्र रूपमा बढेको देखिएको छ । सन् २०२१ मा १०१ जना नेपाली कम्बोडिया गएकोमा सन् २०२२ मा १,९७७, सन् २०२३ मा २,९४०, सन् २०२४ मा ६,४०४ र सन् २०२५ मा ९,६७७ जना पुगेका छन् ।
नेपाल सरकारले तोकेको मापदण्डअनुसार श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा छिटो र धेरै पैसा कमाउने प्रलोभनमा परी कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्ड लगायतका मुलुकमा भ्रमणको बहानामा रोजगारीका लागि नजान दूतावासले पुनः आग्रह गरेको छ ।
साथै, उक्त सन्देश व्यापक रूपमा प्रवाह गर्न आमसञ्चार माध्यम र नागरिक समाजसँग पनि दूतावासले सहयोगको अपेक्षा गरेको छ ।