सातै प्रदेशमा सिटिजन्स बैंकको वित्तीय साक्षरता अभियान

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्लोबल मनी वीक २०२६ को अवसरमा देशका सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

‘स्मार्ट मनी टक्स २०२६’ भन्ने मूल नारासहित चैत २ देखि ८ गतेसम्म सञ्चालन गरिएको कार्यक्रममा बैंकका १०८ शाखा कार्यालयमार्फत विभिन्न स्थानमा वित्तीय सचेतनामूलक गतिविधि आयोजना गरिएको बैंकले जनाएको छ । कार्यक्रममार्फत करिब ६ हजार सर्वसाधारण तथा लक्षित वर्ग लाभान्वित भएका छन् ।

ग्लोबल मनी वीक अन्तर्गत कोशी, मधेश, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका विभिन्न शहर तथा ग्रामीण क्षेत्रमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा विशेषगरी युवा तथा विद्यार्थीलाई वित्तीय साक्षरताको आवश्यकता, सुरक्षित बैंकिङ अभ्यास, डिजिटल बैंकिङको प्रयोग, वित्तीय जोखिम तथा विद्युतीय कारोबारसँग सम्बन्धित सावधानीबारे जानकारी गराइएको बैंकले जनाएको छ ।

नगद कारोबार, लेनदेन तथा विप्रेषणजस्ता वित्तीय गतिविधि बैंकिङ प्रणालीमार्फत गर्न आग्रह गर्दै यस्ता कार्यक्रमले वित्तीय प्रणाली सुदृढ हुनुका साथै युवामा वित्तीय ज्ञान विस्तार हुने विश्वास बैंकले व्यक्त गरेको छ ।

सिटिजन्स बैंकले हाल देशका ६१ जिल्लामा रहेका २०० शाखा, १६९ एटीएम, तीन विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत करिब २० लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ । बैंकले हालै विभिन्न डिजिटल सेवा तथा नवप्रवर्तनात्मक बचत खातासमेत सञ्चालनमा ल्याएको छ ।  

Share News