काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विशेष महाधिवेशन गर्ने निर्णयप्रति आफूलाई अहिले पनि कुनै ग्लानी नरहेको बताएका छन् । मंगलबार केन्द्रीय समितिको बैठकमा बोल्दै उनले आफू सभापति बन्नका लागि कुनै ‘दलाल’ कहाँ नपुगेको स्पष्ट पारे ।
थापाले आफूले विशेष महाधिवेशनको निर्णय एक मिनेटको अलमलमा नभई गम्भीर सोचविचारपछि लिएको बताए । उनले भने, ‘एक मिनेट पनि अलमलिएर यो निर्णयमा पुगेको थिइनँ । सभापति बन्न दलालकहाँ पनि पुगेको थिइनँ ।’
उनले चुनावका लागि नेपाली कांग्रेसका निम्ति खटिएका सबैप्रति आभार व्यक्त गरे । साथै, आफूले पहिलो पटक उपसभापतिसँग नै राजीनामाको कुरा राखेको जानकारी पनि दिँदै निर्वाचनलगत्तै राजीनामा दिन चाहेको भए पनि केही प्राविधिक कारणले ढिलाइ भएको उल्लेख गरे ।
सभापति थापाले आफ्नो राजीनामाको प्रसंग विश्वसनीयता र जवाफदेहीतासँग जोडिएको बताए । उनले भने, ‘म सभापति हो । मेरो नेतृत्वमा हामी निर्वाचनमा गएका हौं । त्यसैले जवाफदेहीताको जिम्मेवारी लिनुपर्छ भन्ने गरी राजीनामा दिएको हुँ ।’
उनले आफ्नो राजीनामा स्वीकृत हुनुपर्ने अपेक्षा भए पनि कार्यसमितिले अस्वीकृत गरेको बताए । कार्यसमितिको निर्णय आफ्नो अपेक्षाविपरीत भए पनि त्यसलाई सम्मान गरेको उनको भनाइ छ ।
थापाले अब उक्त प्रसंग समाप्त भइसकेको र पार्टी नयाँ अध्यायमा प्रवेश गरिसकेको उल्लेख गरे । उनले भने, ‘त्यो अध्यायको समाप्त भएको छ । अब नयाँ अध्यायमा प्रवेश गरेका छौं । अब हामी नियमित महाधिवेशतर्फ अगाडि बढ्नुपर्छ । थप गति र परिस्कृत भएर जानुपर्छ ।’