काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक सभापति गगनकुमार थापाको अध्यक्षतामा सुरु भएको छ ।
आमनिर्वाचन २०८२ को परिणामपछि सभापति थापाले दिएको राजीनामा यसअघि बसेको केन्द्रीय समिति बैठकले अस्वीकृत गरेपछिको यो पहिलो बैठक हो ।
बैठकको सुरुमा सभापति थापाले खुला सम्वोधन गर्ने कार्यक्रम तय भएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । बैठकको औपचारिकता सकिएपछि थापाले खुला सम्वोधन गरेपछि नियमित बैठक सुरु हुने उनले बताए ।
एक केन्द्रीय सदस्यका अनुसार बैठकमा संविधान संशोधन अध्ययनका लागि विज्ञ समिति गठन गर्ने, १५औं महाधिवेशनको तयारी अघि बढाउने, उम्मेदवारहरूसँग प्रदेशस्तरीय निर्वाचन समीक्षा गर्ने, प्रदेश तथा स्थानीय सरकारको प्रभावकारी सञ्चालनबारे छलफल गर्ने तथा भातृ संघ, शुभेच्छुक संस्था र जनसम्पर्क समितिको भूमिका सुदृढ गर्ने लगायतका एजेन्डा समावेश गरिएको छ ।