चितवनका दुग्ध उत्पादक किसानले पाएनन् ५५ करोड भुक्तानी

काठमाडौं । चितवन जिल्लाका दुग्ध उत्पादक किसानले दुध बिक्री गरे बापत ५५ करोड  भुक्तानी पाउन सकेका छैनन् । उनीहरूले विगत ६ महिनादेखिको भुक्तानी पाउन नसकेका हुन् ।
 
जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर वगालेका अनुसार गत कात्तिकदेखिको दूधको भुक्तानी नपाउँदा किसान समस्यामा छन् । बजारको समस्या नभए पनि दुग्ध विकास संस्थानसहित ठूला दूध उद्योगले रकम भूक्तानी नगर्दा दुग्ध उत्पादक किसान समस्यामा परेका हुन् । 

उनले भने, ‘संस्थानको ६ महिनादेखि र अन्य उद्योगको तीन महिनादेखिको भुत्तानी बाँकी छ ।’

साना उद्योगले नियमित भूक्तानी गर्ने गरेको भए पनि ठूला उद्योगको भुक्तानी बाँकी रहेको अध्यक्ष वगालेले जानकारी दिए ।

जिल्लामा अहिले दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । जसमध्ये ५० प्रतिशतभन्दा बढी दूध बिक्री गर्न जिल्ला बाहिर लैजाने गरिन्छ । यहाँका ११५ दुग्ध उत्पादक सहकारी सङ्घले दैनिक दूध सङ्कलन गरेर ठूला उद्योगलाई बिक्री वितरण गर्ने गरेका छन् । 

ती सहकारीले समयमा भुक्तानी नपाउँदा किसानलाई भूक्तानी गर्न कठिन भएको उनले जानकारी दिए । जिल्लामा ४० हजार किसानले दूग्ध उत्पादन गर्दै आएका छन् ।

Share News