यी हुन् बालेन क्याबिनेटका सम्भावित मन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुनिल लम्सालले एक टेलिभिजनसँगको अन्तर्वार्तामा भनेका छन्, ‘अर्थमन्त्रीका रूपमा मेरो पनि नाम आएकोले के प्रष्ट पार्न चाहन्छु भने हामी सबैको सिनियर पनि अर्थतन्त्र पनि राम्रोसँग बुझेको हुनाले डा.स्वर्णिम वाग्ले नै अर्थमन्त्री बन्नुपर्छ भन्ने हाम्रो धारणा हो ।’ उनको यो भनाइसँगै रास्वपाभित्र डा. वाग्लेलाई अर्थमन्त्री बनाउने लगभग निश्चित भइसकेको बुझिन्छ । रास्वपाका नेताहरूले पनि अहिले र पहिलेदेखि नै अर्थमन्त्रीका रूपमा स्वर्णिमको नाम नै आएकोले अर्थमन्त्री उनी नै बन्ने सम्भावना धेरै छ । 

रास्वपाले नेतृत्व गर्ने सरकारको अर्थमन्त्री डा. वाग्ले भएसँगै गृहमन्त्री उपसभापति डिपी अर्याल बन्ने पनि लगभग निश्चित भइसकेको रास्वपा स्रोतले बतायो । ‘सभापतिज्यू (रवि)ले सरकारमा जान चाहेको भए उहाँ उपप्रधानसहित गृहमन्त्री बन्नुहुन्थ्यो । तर, उहाँ पार्टीको नेतृत्व गर्नुहुन्छ । वरिष्ठ नेतासहित उपभासभापतिहरू सरकारमा सहभागी हुनुहुन्छ, उपसभापति अर्यालले पनि गृहमन्त्री बन्ने रुचि देखाउनु भएको छ,’ स्रोतले भन्यो । 

दुई सभापति अर्याल र वाग्लेले दुई शक्तिशाली मन्त्रालय पाएसँगै प्रधानमन्त्रीका लागि तयारी गरिरहेका वरिष्ठ नेता बालेन शाहले पनि आफू निकटका नेताहरूलाई अरू शक्तिशाली मन्त्रालयमा राख्ने प्रस्ताव राखेको बुझिएको छ । उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सुनिल लम्साललाई पठाउने तयारी गरिरहेको स्रोतको दाबी छ । तर, बालेनले सुनिललाई गृह दिएर डिपीलाई भौतिकमा पठाउने कि भन्ने प्रस्ताव पठाएकोमा डिपीको जोड गृह नै रहेको बुझिएको छ । 

रास्वपा स्रोतका अनुसार  चैत १३ गते प्रधानमन्त्री बालेनले शपथ लिएकै दिन अन्य मन्त्रीहरूले पनि शपथ लिने तयारी भइरहेको छ । अहिलेसम्म कुन मन्त्रालय भन्ने नटुङ्गिए पनि बालेनलाई रास्वपामा समाहित गर्न भूमिका खेलेका शिशिर खनाल पनि मन्त्री बन्नेछन् । अहिलेसम्मको छलफल अनुसार उनले परराष्ट्र मन्त्रालय पाउने सम्भावना बढी छ । 

रास्वपाकी नेतृ सोविता गौतम र पूर्वउपसभामुख इन्दिरा राना पनि मन्त्री बन्ने स्रोतको दाबी छ । तर, सोवितालाई सभामुख बनाउने कि भन्ने छलफल पनि पार्टीभित्र भएको छ । सोविता र  इन्दिरामध्ये एक जनालाई सभामुख बनाएर एक जनालाई मन्त्री बनाउने तयारी रास्वपाभित्र भएको छ । 

रास्वपाका प्रवक्ता मनिष झा, सस्मित पोखरेल, राजुनाथ पाण्डे र विराजभक्त श्रेष्ठको पनि मन्त्री बन्ने सम्भावना रहेको स्रोतको दाबी छ । 

हाल पार्टीका शीर्ष नेताहरू मुख्यत सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह र दुई उपसभापति अर्याल र वाग्लेबीच क–कसलाई मन्त्रीका रूपमा पठाउने भन्ने छलफल भइरहेको छ । उनीहरूले सांसदहरूको योग्यता र क्षमता छनोट गरेर सोही अनुसारको मन्त्रालय जिम्मेवारी दिने तयारी भइरहेको हो । अहिलेसम्म १५ देखि १८ वटा मन्त्रालय राख्ने उनीहरूबीच सहमति भएको छ । 

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले चैत १२ गते साँझ ४ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । 

Share News