काठमाडौं । कैलालीको टीकापुर नगरपालिका-९ स्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामा लक्ष्यको ६० प्रतिशत राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले वार्षिक लक्ष्यको ६० प्रतिशत राजस्व सङ्कलन गरे पनि बाँकी चार महिनामा ४० प्रतिशत राजस्व सङ्कलन गर्नुपर्ने देखिएको हो । कार्यालयले चालु आवमा १५ करोड ८४ लाख ४९ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा फागुनसम्म ९ करोड ६२ लाख ४१ हजार रुपैयाँ सङ्कलन गरेको छ ।
कार्यालयले लक्ष्यको सबैभन्दा कम साउनमा ६३ लाख ३७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । साउनमा १ करोड २८ लाख ९० हजार रुपैयाँ राजस्व सङ्कलन गर्नुपर्ने भए पनि लक्ष्यको ४९.१७ प्रतिशत मात्रै सङ्कलन भएको कार्यालय प्रमुख चक्रबहादुर सोनीले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी मङ्सिरमा १ करोड ६७ लाख ७४ हजार रुपैयाँ अर्थात् लक्ष्यको १३८.५१ प्रतिशत राजस्व सङ्कलन भएको छ । मङ्सिरमा भन्सारले १ करोड २१ लाख १० हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य पाएको थियो ।
गत वर्ष भन्सारले लक्ष्यको ११९ प्रतिशत राजस्व सङ्कलन गरेको थियो । १२ करोड ७ लाख ३२ हजार रुपैयाँको लक्ष्य रहेकामा १४ करोड ३७ लाख ८२ लाख रुपैयाँ राजस्व उठाएको थियो । त्यसअघिका ३ वर्ष भन्सारले लक्ष्यभन्दा कम राजस्व सङ्कलन गरेको छ । आव २०८०/८१ मा १२ करोड १ लाख ४७ हजार रुपैयाँ लक्ष्य रहेकामा १० करोड २ लाख ४२ हजार रुपैयाँ सङ्कलन भएको थियो । त्यसैगरी, आव २०७९/८० मा १६ करोड ९४ लाख ४१ हजार रुपैयाँ राजस्वको लक्ष्य पाएको भन्सार कार्यालयले ७ करोड ५० लाख ४० हजार रुपैयाँ मात्रै सङ्कलन गरेको थियो ।
आव २०७८/७९ मा पनि सत्ती भन्सारले राजस्व लक्ष्य हासिल गर्न सकेन । २० करोड ५८ लाख ६१ हजार रुपैयाँको लक्ष्य पछ्याएको भन्सार कार्यालयले १० करोड ६७ लाख ९३ हजार रुपैयाँ मात्र सङ्कलन गरेको थियो । १४ करोड २३ लाख ४८ हजार रुपैयाँको लक्ष्य आव २०७७/७८ मा पाएको भन्सारले १५ करोड ८३ लाख ७ हजार राजस्व रुपैयाँ सङ्कलन गरेको थियो ।