डोटीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । डोटीको आदर्श गाउँपालिका-६ रौसेल्ला खोला नजिक मौवा-गिरीचौकको कच्ची सडकमा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा बोलेरो चालक आदर्श-३ काँडीस्याउलेका २२ वर्षीय सुबोध रोकाया र सोही स्थानका १९ वर्षीय कैलाश विक रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नवराज ढुङ्गेलले जानकारी दिए । 

उनका अनुसार खतेडाबाट काँडीस्याउलेतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश०१-००१च ३९२३ नम्बरको सो बोलेरो घुम्तीमा अनियन्त्रित भई गए राति १२ बजेको समयमा दुर्घटनामा परेको थियो । 

दुर्घटनापछि दुवै जना सडकबाट करिब ९०० मिटर तल साइलीखोलामा मृतावस्थामा फेला परेका थिए ।

यस्तै, झापास्थित कचनकवल गाउँपालिका-४ मा सवारी साधन (सिटी)को ठक्करबाट मोटरसाइकल चालक ५० वर्षीय शुकदेव गणेश मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार गए राति बनियानीबाट लोधाबारी गइरहेको बीआर-११सी-३०७१ नम्बरका मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र-१-०१-००२बी ६४११ नम्बरको सिटी एकापसमा ठोक्किएको थियो । सो दुर्घटना चालक गणेश गम्भीर घाइते भएका थिए । 

उनलाई उपचारका लागि भद्रपुरस्थित ओम साई पाथीभरा अस्पताल उपचारका लागि पठाइएकामा अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । प्रहरी सिटी चालक स्थानीय वर्ष १९ का सैजन मियाँ, सिटी र मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Share News