नाडा टोलीको मुख्यमन्त्री बानियाँसँग भेट, अटोमोबाइल क्षेत्र सुधारमा सहकार्यको पहल

काठमाडौं । नवनिर्वाचित नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वसहित टिमले आज बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसँग भेटघाट भएको छ । भेटका क्रममा अटोमोबाइल क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा विस्तृत छलफल भएको नाडाले जनाएको छ । 

मुख्यमन्त्री बानियाँले नाडाको नयाँ केन्द्रीय कार्यसमिति गठन भएकोमा बधाई तथा शुभकामना व्यक्त गर्दै सफल कार्यकालको कामना गरे ।  उनले करिब ५० वर्षदेखि सक्रिय नाडाले राजतन्त्र, प्रजातन्त्र र गणतन्त्र तीनै शासन व्यवस्थासँग काम गरेको अनुभव उल्लेख गर्दै संस्थाको प्रशंसा गरे । 

उनले देशका करिब ५० प्रतिशत सवारी साधन बागमती प्रदेशमै दर्ता हुने भएकाले राजधानी क्षेत्रमा ट्राफिक जाम, पार्किङ अभाव लगायतका समस्या रहेको बताउँदै यसको समाधानका लागि प्रदेश सरकार र नाडाबीच सहकार्य आवश्यक रहेको धारणा राखे । 

यस्तै, आवश्यक प्राविधिक जनशक्ति उत्पादन, रोजगारी सिर्जना तथा सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० सम्बन्धी ट्रायल सेन्टर सञ्चालनका विषयमा पनि सहकार्य गर्न सकिने उनले बताए । 

नाडाका अध्यक्ष उप्रेतीले देशभर ७ प्रदेशमा फैलिएको नाडामा २८ सय ८३ सदस्य कम्पनी रहेको जानकारी दिँदै नेपालको अटोमोबाइल क्षेत्रमा १ खर्ब रुपैयाँभन्दा बढी लगानी रहेको उल्लेख गरे । साथै, वार्षिक रूपमा करिब ५ हजार जनशक्ति आवश्यक पर्ने जानकारी पनि उनले जानकारी दिए । प्रदेश सरकारसँग सहकार्यका सम्भावित क्षेत्रहरूबारे मोडालिटी तयार गरी पेश गरिने पनि उनले बताए । 

कार्यक्रममा नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले देशमा भइरहेको प्रतिभा पलायन रोक्न अटोमोबाइल क्षेत्रले महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै सीपमूलक तालिम कार्यक्रममार्फत जनशक्ति उत्पादनमा नाडा सक्रिय रहेको बताए । 

यसैगरी, नाडाका विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठले अटोमोबाइल प्रविधि तीव्र रूपमा परिवर्तन भइरहेकाले सोहीअनुसार दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्नु चुनौतीपूर्ण रहेको बताए । यसका लागि परिमार्जित पाठ्यक्रम तयार गरिँदै रहेको र तालिमका लागि स्रोतसाधन तथा दक्ष प्रशिक्षकको अभाव रहेको पनि उनले औंल्याए । उक्त कार्यक्रममा नाडाका पदाधिकारी तथा केन्द्रीय कार्यसमिति सदस्यहरूको समेत उपस्थिति रहेको थियो । 

Share News