काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अब व्यवसायीहरू कुनै पनि पार्टीको सदस्य बन्न नपाउने व्यवस्था गर्ने बताएका छन् ।
महासंघको नेतृत्व सहमतिका आधारमा अगाडि बढाउन आफू तयार रहेको बताएका छन् । उनले सहमतिको पहल सबै पक्षबाट हुनुपर्नेमा जोड दिएका छन् ।
उम्मेदवारी घोषणासभामा बोल्दै श्रेष्ठले वरिष्ठ उपाध्यक्ष बन्दा नै आफूले सक्षम र सशक्त टिम बनाउने घोषणा गरेको स्मरण गराए । उनले नेतृत्वले अनुभवी र सक्षम टिम नपाए काम प्रभावकारी रूपमा अघि बढ्न नसक्ने भएकाले टिम घोषणा गर्नुपरेको बताए ।
उनले आफ्नो टिममा सक्षम र काम गर्न सक्ने साथीहरू रहेको दाबी गरे । सहमतिका लागि आफूहरूले प्रयास गरेको तर अपेक्षित पहल हुन नसकेको उल्लेख गर्दै उनले सहमति भएमा आफू त्यसका लागि अझै पनि तयार रहेको स्पष्ट पारे ।
श्रेष्ठले सहमति हुन नसके पनि स्वस्थ र प्रतिस्पर्धात्मक चुनावमार्फत प्रक्रिया टुंगिनुपर्ने बताए ।
मतदान सम्पन्न भएपछि भने निजी क्षेत्र पुनः एक ठाउँमा उभिनुपर्ने उनको भनाइ थियो ।
उनले नयाँ सरकारसँग सहकार्य गर्दै निजी क्षेत्रका मुद्दा अघि बढाउन सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए । साथै निजी क्षेत्र आफैले पनि आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औंल्याउँदै ‘छातीमा हात राखेर मनन गर्नुपर्छ, हाम्रो पनि केही गल्ती छ कि भन्ने सोच्नुपर्छ भन्ने धारणा राखे ।
सबैबाट सहयोगको अपेक्षा व्यक्त गर्दै श्रेष्ठले आफू महासंघमा प्रभावकारी रूपमा काम गर्न सक्षम रहेको बताए । उनले महासंघभित्र सुन्ने संयन्त्र बनाउने, पूर्वअध्यक्षहरू सम्मिलित थिंकट्यांक गठन गर्ने र महासंघलाई अध्ययन तथा अनुसन्धानमा सक्रिय बनाउने प्रतिबद्धता जनाए ।
उनले सार्वजनिक सरोकारका विधेयक संसदमा पेस गराउनका लागि पनि पहल गर्ने बताए ।
उनले व्यवसायी पार्टीका सदस्य भएकै कारण हामी आफै कमजोर भएको बताए । उनले अब व्यवसायी पार्टीको सदस्य हुन नपाउने व्यवस्था गर्ने बताए ।