सालमनीदेवी हाइड्रोले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज

काठमाडौं । सालमनीदेवी हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको जनाएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १०० रुपैयाँ अंकित दरका ८ लाख ५० हजार कित्ता तथा सर्वसाधारणका लागि सोही अंकित दरका थप ८ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्नेछ ।

आईपीओ निष्काशनसम्बन्धी सम्झौतामा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र सालमनीदेवी हाइड्रोपावर लिमिटेडका तर्फबाट सञ्चालक पेरश दाहालले हस्ताक्षर गरेका छन् ।

सालमनीदेवी हाइड्रोपावर लिमिटेडले डोटी जिल्लामा अवस्थित ३.३३ मेगावाट क्षमताको कापडीगाड जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०७६ सालदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।  

Share News