कपिलवस्तुमा दुई समुदायबीचको झडपमा १० जनाविरुद्ध मुद्दा, स्थिति सामान्य बन्दै

काठमाडौं । कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिकाको बर्गदामा शनिबार बिहान दुई समुदायबीच धार्मिक विषयमा विवाद उत्पन्न भई स्थिति उग्र बनेपछि जिल्ला प्रशासनले तत्काल अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो । हालसम्म प्रहरीले १० जनालाई नियन्त्रणमा लिई मुद्दासमेत चलाइसकेको छ ।

मस्जिदमा नमाज पढिरहेका बेला नजिकैको काली मन्दिरमा अत्यन्त चर्को स्वरमा भजन बजाइएको विषयलाई लिएर दुई पक्षबीच विवाद सुरु भएको हो । सुरुमा भनाभनबाट सुरु भएको विवाद उग्र बन्दै जाँदा नमाज पढिरहेको समूहले मन्दिरभित्र पसी मूर्ति तोडफोड गरे । त्यसपछि दुवै समुदाय शारीरिक झडपमा उत्रिए र स्थिति पूरै तनावपूर्ण बन्न पुग्यो । 

स्थानीय प्रशासनले अवस्था थप बिग्रन नदिन शनिबार दिउँसो २ बजेदेखि सो क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा लागू गर्यो ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जिल्लामा सर्वपक्षीय बैठक सम्पन्न बसी आवश्यक निर्णयहरू सार्वजनिक गरिएको जानकारी दिए ।

उनका अनुसार घाइतेहरूको उपचार जारी रहेको र दोषीहरूमाथि कानुन बमोजिम कारबाहीको प्रक्रिया सुरु भइसकेको पनि छ ।

गौतमले कानुनले निषेध गरेका कार्यमा संलग्न भएको पाइएमा कडा कारबाही गरिने चेतावनीसमेत दिए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख सन्तोष आचार्यले जिल्लाको अवस्था क्रमशः सामान्य बन्दै गइरहेको बताए । 

‘आज पनि बजार बन्द गर्दै हिँड्ने केही समूहलाई पक्राउ गरिएको छ । झडप भएको दिनदेखि हालसम्म प्रहरीले १० जनालाई नियन्त्रणमा लिई मुद्दा चलाइसकेको छ,’ उनले भने ।

कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले सामाजिक सञ्जालमार्फत नागरिकको जीवनलाई लक्षित गरी भ्रम फैलाउने कार्य नगर्न सबैलाई कडा अनुरोध गरेको छ । 

सामाजिक सञ्जालको दुरुपयोग गरी भ्रमपूर्ण अभिव्यक्ति दिनेहरूमाथि प्रचलित कानुन बमोजिम आवश्यक कारबाही अगाडि बढाइने प्रशासनले स्पष्ट पारेको छ ।

जिल्लामा सुरक्षा निकायको उपस्थिति बढाइएको छ र अवस्थामाथि निरन्तर निगरानी राखिएको प्रशासनले जनाएको छ ।

Share News