एसपीजी अटोमोबाइल्सले भित्र्यायो जेको जे–सिक्स टी, नेपाली माटो सुहाउँदो शक्तिशाली इलेक्ट्रिक एसयूभी

यस्ता छन् विशेषताहरू

काठमाडौं । नेपाली अटो बजारमा विद्युतीय सवारीसाधन (ईभी) को लहर मात्र चलेको छैन, यसले एउटा नयाँ उचाइ पनि लिइरहेको छ । अहिले ग्राहकले रुचाएको उत्कृष्ट ब्राण्ड हो, ओमोडा एण्ड जेको । यसले छोटो समयमै धेरै ग्राहकको मन जित्न सफल भएको छ । विशेषगरी ओमोडा ई-५, जेको जे-फाइभ सिक्सलगायतले उपभोक्ताहरूको मन जितिरहेको छ । बजारमा यसको माग उच्च देखिएपछि शारडा ग्रुपअन्तर्गतको एसपीजी अटोमोबाइल्सले बजारमा एक पछि अर्को गर्दै नयाँ भेरियन्ट थप्दै गएको छ ।

सोमबार एसपीजी अटोमोबाइल्सले चेरीको प्रिमियम ब्राण्ड जेको जे-सिक्स टी आधिकारिक रूपमा लन्च गरेको छ ।

ओमोडा ई-५ र जेकोको सफलतापछि भित्रिएको यो नयाँ संस्करण आधुनिक र साहसी जीवनशैली चाहनेहरूका लागि एउटा बलियो विकल्प हो । कम्पनीले नेपालमा विद्युतीय गाडीको प्रयोग ७५ प्रतिशतसम्म पुगेको अनुमान गर्दै बदलिँदो परिवेश र नेपाली सडकका चुनौतीहरूलाई मध्यनजर उक्त नयाँ गाडी बजारमा लिएको जनाएको छ। 

जेको जे सिक्सलाई पहिलो नजरमा हेर्दा यसको बलियो र स्पोर्टी बनावटले जो-कोहीलाई पनि आकर्षित गर्न सक्छ । यसमा जडान गरिएको डिजिटल स्मार्ट लाइटले १०९ मिटर टाढासम्मको बाटोलाई छर्लङ्ग देखाउँछ । गाडीको पछाडिको भागमा राखिएको २३.५ लिटरको युटिलिटी बक्सले यसलाई थप उपयोगी बनाएको छ । विशेषगरी २५ देखि ६० वर्ष उमेर समूहका जो नयाँ प्रविधि र साहसिक यात्रा रुचाउँछन्, उनीहरूका लागि यो गाडी एउटा उत्कृष्ट रोजाइ हो । 

नेपाली सडकका खाल्डाखुल्डी र कच्ची बाटोहरू धेरै गाडीका लागि चुनौती बन्ने गर्छन् । तर, जेको जे सिक्स यसैको लागि तयार पारिएको हो  । २२५ एमएमको ग्राउन्ड क्लियरेन्स भएको यो गाडीले सडकका अवरोधहरूलाई सजिलै पार गर्नसक्ने कम्पनीको दावी छ । १३५ किलोवाटको शक्तिशाली मोटर र ३१ डिग्रीको डिपार्चर एङ्गलले गर्दा यसलाई कठिन उकालो र अफ-रोडमा गुडाउन निकै सहज हुन्छ । 

यसमा १५.६ इन्चको विशाल नियन्त्रण स्क्रिन र १.२ वर्गमिटरको सनरुफले यात्रालाई थप रोमाञ्चक बनाउँछ । चालक र यात्रुहरूका लागि विद्युतीय माध्यमबाट मिलाउन मिल्ने सिटहरू छन् । जसमा  भेन्टिलेसन र  मेमोरी सुविधाहरूले लामो यात्रामा पनि आरामदायी वातावरण सिर्जना गर्छ । आफ्नो इच्छाअनुसार गाडी चलाउन यसमा इको, कम्फर्ट, स्पोर्ट्स र कस्टम गरी ४ वटा मोडहरू उपलब्ध छन् ।

सुरक्षा यस गाडीको सबैभन्दा बलियो पक्ष हो । यसमा रहेको अत्याधुनिक सुरक्षा प्रणालीले ब्लाइन्ड स्पट डिटेक्सन र आपतकालीन अवस्थामा आफै ब्रेक लगाउने जस्ता सुविधामार्फत दुर्घटनाको जोखिम कम गर्छ । यसमा ५४० डिग्रीको क्यामेरा छ, जसले गाडी बाहिर मात्र होइन, गाडीको मुनिको भाग समेत स्क्रिनमा देखाउँछ ।

विद्युतीय गाडीमा सबैभन्दा ठूलो चिन्ता ब्याट्रीकै हुन्छ । जेको जे सिक्समा विश्वविख्यात (सीएटीएल) ब्याट्री प्रयोग गरिएको छ । एक पटकको फुल चार्जमा ४३१ किलोमिटर सम्म यात्रा गर्न सकिने यो गाडीलाई हतारको समयमा १० मिनेट मात्र चार्ज गर्दा पनि १०० किलोमिटर गुड्नसक्ने कम्पनीकाे दावी छ । 

सुरक्षाको हिसाबले पनि यो गाडी निकै भरपर्दो छ । यसले फाइभ स्टार सेफ्टी रेटिङ पाएको छ । विश्वविख्यात चेरी अटोमोबाइल्सको प्रविधि र ज्यागुआर ल्याण्ड रोभरसँगको सहकार्यमा निर्माण भएकोले यसको गुणस्तरमा कुनै सम्झौता नगरिएको कम्पनीको दावी छ । 

कम्पनीका प्रबन्ध निर्देशक गौरव शारडाले २०२४ मा बजारमा आएको जेको जे सिक्सको सफलतापछि त्यसैको नयाँ भेरियन्ट नेपाली बजारमा ल्याएको जानकारी दिए । शाराडाले यो भेरिन्टलाई एक प्रिमियम लाइफस्टाइल उत्पादनको रूपमा चिनाए । 

गौरव शारडा

गौरव शारडा ।

उनका अनुसार यसको बजार मूल्य ६८ लाख ९९ हजार रुपैयाँ तोकिएको भए तापनि सुरुवाती अफरअन्तर्गत ग्राहकहरूले यसलाई ६६ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सकिनेछ ।

जेको जे सिक्स टीका हाल देशभर रहेका १८ वटा डिलर नेटवर्कमार्फत खरिद गर्न सकिने शारडाको भनाइ छ । यस्तै, ग्राहकहरूको यात्रालाई झन्झटमुक्त बनाउन कम्पनीले देशभरका मुख्य राजमार्गहरूमा ३५ वटा आफ्नै चार्जिङ स्टेशनहरू सञ्चालनमा ल्याइसकेको उनले जानकारी दिए ।

यसैगरी, कम्पनीका भाइस प्रेसिडेन्ट रूपेश शर्मा भट्टका अनुसार नेपाली भौगोलिक अवस्थालाई मध्यनजर गर्दै यसमा केही महत्त्वपूर्ण प्राविधिक सुधारहरू गरिएको छ । 

पहिले १८ इन्च रहेको टायरको साइजलाई बढाएर १९ इन्च पुर्याइएकाले सडकमा उत्कृष्ट प्रदर्शन गर्ने उनको भनाइ छ ।

भट्टका अनुसार दुई वर्षको अवधिमा ओमोडा र जेकोका करिब २ हजारभन्दा बढी युनिट बिक्री भइसकेका छन् । नेपाली उपभोक्ताको मन जित्दै नेपालको विद्युतीय सवारी बजारमा एउटा बलियो प्रतिस्पर्धीका रूपमा स्थापित भइसकेको कम्पनीको भनाइ छ ।

null

रूपेश शर्मा भट्ट ।

यसको आकर्षक डिजाइन, आधुनिक फिचर्स, बढ्दो चार्जिङ पूर्वाधार र रणनीतिक बजार प्रवर्द्धनले यसलाई नेपाली ईभी बजारमा अझै सशक्त बनाउने निश्चित छ । यो ब्राण्डलाई चीनको चेरी ब्राण्डले उत्पादन गर्ने गरेको छ ।

कम्पनीले ओमोडाबाहेक चेरी ब्राण्डकै आइकार भी टु थ्री र प्रिमियम तथा लग्जरी ईभी ब्राण्ड जीकरजस्ता अन्य विद्युतीय सवारी साधनहरू पनि नेपाली बजारमा बिक्री गरिरहेको छ । विद्युतीय सवारीसाधनको प्रयोगलाई सहज बनाउन कम्पनीले चार्जिङ पूर्वाधारमा पनि लगानी गरिरहेको छ ।

हाल नेपालभरि ३५ भन्दा बढी स्थानमा ओमोडाका डिसी फास्ट चार्जरहरू सक्रिय छन् । यस आर्थिक वर्षभित्र शारडा ग्रुपको गोल्छा अर्गनाइजेसनसँगको सहकार्यमा १०० भन्दा बढी स्थानमा चार्जर स्थापना गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

Share News