काठमाडौं । वस्तुगत उपाध्यक्षका उम्मेदवार शिवप्रसाद घिमिरेले महासंघलाई शक्तिकेन्द्रका रूपमा विकास गरी काम गर्ने बताएका छन् ।
सोमबार महासंघको वस्तुगत उपाध्यक्षतर्फको उम्मेदवारी घोषणा गर्दै उनले अहिले महासंघ कमजोर बनेको र अब शक्तिशाली बनाएर अगाडि बढ्ने योजना रहेको सुनाए ।
व्यवसायीहरूले नै महासंघप्रति गुनासो गर्ने गरेको उल्लेख गर्दै उनले महासंघ आज निर्णायक मोडमा रहेको बताए।
‘महासंघ कमजोर बन्दै गएको छ, नीतिगत लबिङमा कमजोर बनेको महसुस व्यवसायीलाई भएको छ,’ उनले भने, ‘म अब मानक बनाएर काम गर्छु, महासंघबाट लिन होइन, दिन आएको छु ।
उनले अञ्जन श्रेष्ठको नेतृत्वमा अब्बल काम गर्ने उद्देश्यसहित उपाध्यक्षको उम्मेदवारी दिएको बताउँदै आफूले पदभन्दा पनि महासंघको प्रतिष्ठाको लागि संकल्प गर्दै अगाडि बढ्ने बताए ।
नेतृत्वले कुरामात्रै नभई ठोस काम र निर्णय दिने बताए । नीतिगत तहमा महासंघको अनिवार्य सहभागिता देखाएर युवा उद्यमी सहभागिता बढाउने, प्रविधिको विस्तार, प्रतिस्पर्धी, कर नीति सुधार गर्दै समग्र उद्योगी व्यवसायीको समान सहभागितामा काम गर्ने उल्लेख गरे ।