काठमाडौं । नेपाल बीमा प्राधिकरणले ८ बीमा कम्पनीलाई कारबाही गरेको छ । बीमा प्राधिकरणले बीमा ऐनअन्तर्गत काम नगर्ने कम्पनीलाई कारबाही गरेको प्राधिकरणका प्रवक्ता पुजन ढुंगेलले जानकारी दिइन् ।
प्राधिकरणकाे कारवाहीमा पर्ने बीमा कम्पनीहरूमा नेपाल लाइफ इन्स्योरेन्स, एशिएन लाइफ इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रि इन्स्योरेन्स, नेको इन्स्योरेन्स, एलियन्ट इन्स्योरेन्स ब्रोकर कम्पनी, हिमालयन लाइफ र ओरियन्टल इन्स्योरेन्स रहेका छन् ।
प्रवक्ता ढुंगेलका अनुसार प्राधिकरणले नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र थापालाई सुधारको लागि सचेत गराउने वा निर्देशन दिने खालको कारबाही भएको छ । त्यस्तै, एलियन्ट इन्स्योरेन्सलाई तीन महिनाको लागि निलम्बन गरिएको छ ।
अरू बाँकी बीमा कम्पनीलाई ऐनअनुसार २ लाख जरिवाना गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार कम्पनीहरूलाई बीमा ऐन, २०७९ को दफा १३८ को उपदफा ४ अनुसार कारबाही गरेको हो । उक्त दफामा प्राधिकरणको निर्देशनविपरीत काम गरेमा दुई लाखदेखि ५० लाखसम्म जरिवाना हुने व्यवस्था छ ।
‘यो ऐन वा ऐन अन्तर्गत बनेको नियम, विनियम वा आदेश पालना नगरेमा वा यस ऐन बमोजिमको रीत नपुर्याई बिमा व्यवसाय गरेमा वा झुटा विवरण तयार गरेमा प्राधिकरणले देहाय बमोजिमको जरिवाना गर्न सक्नेछ ।
दफा १३८ को उपदफा ४ अनुसार (क) पहिलोपटकका लागि दुई लाख रुपैयाँ, (ख) दोस्रोपटकको लागि पच्चीस लाख रुपैयाँ र (ग) तेस्रोपटक वा सोभन्दा बढीको लागि पटकैपिच्छे पचास लाख रुपैयाँ जरिवानाको व्यवस्था गरिएको छ ।